सिड्नी । अस्ट्रेलियाको मेलवर्न र सिड्नीमा लकडाउनको विरूद्धको प्रदर्शनमा सहभागी करिब दुई सय पचास जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० प्रहरी घाइते भएका छन् । तीमध्ये ६ जनालाई अस्पताल भर्ना गरिएको मेलवर्न प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका प्रदर्शनकारीमध्ये एक सय ९३ जनालाई कोभिड प्रतिबन्ध तोडेको र अन्यलाई भने प्रहरीविरूद्ध आक्रमण गरेको आरोप लगाइएको छ ।
सयौं प्रदर्शनकारी बिनामास्क प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारी निकै उग्र देखिन्थे । भिक्टोरियामा मात्र दुई सय ३५ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आजको मेलवर्नमा ठूलै प्रदर्शन हुने अनुमानले उल्लेख्य मात्रामा सुरक्षाकर्मी खटाइएको थियो ।
त्यसैगरी सिड्नीमा पनि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा करिब २० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।