April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मनाङ घुम्न जानेको ७२ घण्टे पीसीआर रिपोर्ट अनिवार्य

2.3K

मनाङ– मनाङ घुम्न जानेले ७२ घण्टे पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ ।

सरकारले विदेशी पर्यटकलाई नेपाल घुम्न खुला गरे पनि चक्रीय अन्नपूर्ण पदमार्गको प्रमुख गन्तव्य मनाङमा भने ७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट अनिवार्य गरेको हो ।

७२ घण्टाभित्रको नेगेटिभ आएको पीसीआर रिपोर्ट स्वदेशी तथा विदेशी दुवैखाले पर्यटकका लागि अनिवार्य गरिएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए ।

Advertisement

लमजुङ सीमा तालदेखि तिलिचो तालको सिधा बाटो मात्रै खुला गरिएको हो । अन्य ठाउँमा घुमफिरका लागि प्रतिबन्ध अझै कायम छ । मनाङबाट याकखर्क, थोराङ्ला हुँदै मुक्तिनाथ जाने बाटोसमेत नखुलेको उनले बताए । पीसीआर रिपोर्ट लिएर आए पनि पर्यटकले बसाइँ र खानपानको आफैं व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । यसबाहेक उनीहरूका पथप्रदर्शकले भने व्यवस्थापन गरिदिन सक्नेछन् ।

सरकारले अनुमति दिएपछि चार विदेशी पर्यटक नार्पाभूमि गाउँपालिकाबाट हिमलुङ हिमाल चढ्न गएका थिए । उनीहरूले खानबस्न आफैं व्यवस्थापन गरेका थिए ।

मनाङमा पर्यटक आगमन हुन थालेपछि सीमा प्रहरी चौकी तालले तालडाँडमा नियमित जाँच थालेको छ । ७२ घण्टाभित्रको पीसीआर रिपोर्टबिनै आउने पर्यटकलाई फिर्ता पठाउने गरिएको मनाङका डीएसपी मेखबहादुर कुँवरले बताए ।