April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इयुले नेपाली उडानलाई कालोसूचीबाट छिट्टै हटाउँछ : मन्त्री भट्टराई

2.7K

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालो सूचीबाट हटाउने संकेत दिएको भन्दै खुशि व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताएका हुन्।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनरसंरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसदमा छलफल भइरहेको छ। संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे।

Advertisement

नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको बताए। यस्तै, नेपालको वायुसेवा निगमले अस्ट्रेलिया जस्तो उड्डयान सुरक्षाको दृष्टिकोणले निकै नै सुरक्षित मानिएको देशमा समेत सफल उडान गरिसकेकाले अन्य आकासमा पनि प्रतिवन्धित हुनु नपर्ने विश्वास व्यक्त गरे।

युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालो सूचीमा राखेको कारण नेपालका कुनै पनि विमान युरोपमा उडान गर्न पाउँदैनन्। यसबाट अन्य देशका गन्तव्यमा जानसमेत स्वीकृतिका लागि समस्या हुँदै आएको छ।

तर, अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा जारी गरेको विज्ञप्तिमा नेपालले हवाई सुरक्षाका लागि गरेको प्रस्ताव स्वागतयोग्य भएको बताउनुले निकट भविश्यमै कालोसूचीबाट हटने संकेतका रुपमा लिन सकिन्छ। इयुले सन् २०१३ को डिसेम्बरदेखि नेपालको हवाई उड्डयनलाई कालोसूचीमा राखेको थियो।