April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चेली-माइती समूहद्वारा महिला हिंसा तथा बलात्कार अध्यादेश २०७७ सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

5.5K

१ डिसेम्बर २०२० चेली माइती समूहले जूम भर्चुअल मार्फत गरेको १५ औं अन्तरक्रिया कार्यक्रम माननीय सांसद राम कुमारी झाक्रीको प्रमुख आतिथ्यातामा सम्पन्न भयो। चेली माइती समूहकी सल्लाहकार तथा बागमती प्रदेश सांसद जीवन डंगोल ज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रमका अन्य अतिथिहरुमा बरिष्ठ अधिवक्ता सुनिता रेग्मी र नेपाल महिला संघ महासचिव धना खतिवडा हुनुहुन्थ्यो ।

बलात्कार सम्बन्धि सरकार द्वारा ल्याईएको अध्यादेश २०७७ ले यौन हिंसा घट्ला त ? के छ त नेपाल सरकारले हाल आएर जारी गरेको बलात्कार सम्बन्धि अध्यादेश तथा उल्लेखित नीति, नियमका बुँदाहरुमा ? महिला हिंसा तथा बलात्कार सम्बन्धि नेपालको वर्तमान अवस्था र चुनौति आदि इत्यादि विषयबस्तुबारे नेपाली समाजमा जल्दोबल्दो विषयहरुलाई प्रमुख प्राथमिकतामा राखेर आयोजना गरिएको कार्यक्रममा देश तथा विदेशमा रहेर विभिन्न संघ-संगठन तथा पेशामा आबद्द महिलाहरुले सहभागिता जनाउँदै आ-आफ्ना धारणा राख्नु भएको थियो ।

नेपालमा महिला हिंसा तथा बलात्कारका घटनाहरुलाई न्यूनीकरण गर्नको निम्ति पर्याप्त कानूनको अभाव, बिद्यमान नियम कानूनको प्रभावकारीतामा कमी, पिडितको गोपनियता सम्बन्धि आधिकारिक निकायहरुले सम्वेदनशिलता नअपनाउने गरेका, घटनाकाहरुलाई ढाक छोप गर्न खोजिने जस्ता विषयहरुले गर्दा समाजमा दिनानुदिन यस्ता घटनाहरु घट्ने क्रम बढ्दो छ भन्ने जानकारी प्रस्तुत गर्दै यसको न्यूनीकरणका लागि सबैले आ-आफ्नो ठाउँबाट सक्दो पहल गर्नका लागि बरिष्ठ अधिवक्ता सुनिता रेग्मी ज्यूले अनुरोध गर्नु भएको थियो।

Advertisement

मुलुक कोरोनाले आक्रान्त बनेको र संसद पनि चालु नभएको अवस्थामा सरकारले अध्यादेश मार्फत नयाँ बिधेयक पारित गर्न खोज्नु समय सान्दर्भिक नभएको बताउँदै नेपाल महिला संघ महासचिव धना खतिवडा ज्यूले महिला अधिकारकर्मी, कानूनविद् तथा महिला बुद्धिजीवीहरु संगको बृहत छलफल पश्चात बिधेयक ल्याउँदा उपयुक्त हुने बताउनु भयो।

प्रमुख अतिथि झाँक्रीले समाजमा यस्ता घटनाहरुलाई कम गर्नको निम्ति मृत्यु दण्डको सजाय नै समस्याको समाधान नभएर, समग्र रुपमा मानिसको सोचमा नै परिवर्तन आउनु पर्ने कुरामा जोड दिनु भएको थियो भने कार्यक्रम सभापति जीवन डंगोल ज्यूले बलात्कारीलाई कडा भन्दा कडा सजाय हुने कानूनको व्यवस्था गरिनु पर्ने कुरामा जोड दिँदै कार्यक्रम समापन गर्नु भएको थियो।

कार्यक्रम सहज कर्ताको रुपमा इन्दिरा निरौला हुनुहुन्थ्यो भने यास्मिन बेगमले कार्यक्रमलाई होष्ट गर्नु भएको थियो। त्यस्तै बिभिन्न देशहरुबाट प्रतिनिधित्व गर्दै रजनी प्रधान , भवानी तिवारी, सीता बराल, जयकला राई, मिनामाया खरेल, स्नेहा परियार, सिवानी श्रेष्ठ, डोङ लामु शेर्पा, सम्झना अधिकारी , दिपिका भुसाल , इन्दिरा बराल, कला कोयु राई, मिना माया , नवराज खतिवडा , नितु कार्की , रिता सेन , शान्ता कार्की , सुनिता रेग्मी , अनु थापा , रिता सेन , इन्दिरा अधिकारी , उषा भुसाल सुवेदी , शोभा चेम्जोङ्ग पालुन्ग्वा हुनुहुन्थ्यो।