काठमाडौं–मंसिर महिनाको १५ दिनमा वाणिज्य बैंकहरुमा २६ अर्ब रुपैयाँले निक्षेप बढेको छ। वैदेशिक रोजगारमा गएका नेपाली तथा युरोप अमेरिकामा बसेका नेपालीले पठाएको रेमिट्यान्सका कारण बैंक तथा वित्तीय संस्थामा पछिल्लो एक सातामै १९ अर्ब रुपैयाँले निक्षेप बढेको छ।
यसका साथै कोभिड–१९ का कारण बन्द रहेका उद्योग कलकारखाना तथा आर्थिक गतिविधि विस्तारै बढ्न थालेपछि वाणिज्य बैंकहरुमा निक्षेप थुप्रिएको हो। यस्तो सुधार गएका वर्षको सामान्य अवस्थाको भन्दा पनि बढी हो।
मंसिर दोस्रो सातासम्ममा वाणिज्य बैंकको निक्षेप संकलन ३६ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ। गत वर्षको यही अवधिमा ३५ खर्ब ५९ अर्ब रुपैयाँले बढेको हो। एक वर्षकै अवधिमा एक खर्ब १५ अर्ब रुपैयाँ निक्षेप बढेको नेपाल बैंकर्स संघले जनाएको छ।
निक्षेपसँगै कर्जा विस्तार भने त्यति धेरै बढेको देखिदैन। मंसिरको दुइ साता अवधिमा कर्जा विस्तार १४ अर्ब रुपैयाँ मात्रै भएको छ। जबकि यही अवधिमा निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ।
मंसिर दोस्रो सातासम्ममा वाणिज्य बैंकहरुले ३० खर्ब ६६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत वर्षको यही अवधिमा कर्जा विस्तार २९ खर्ब ६८ अर्ब रुपैयाँ थियो। एक वर्ष अवधिमा कर्जा विस्तार ९८ अर्ब रुपैयाँले बढेको छ।