April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘काठमाडौं र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक’

4K

पोखरा–काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ र पोखराको पर्यटकीय सम्भावनालाई योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताएका छन्।

पोखरा महानगरपालिका अवलोकन भ्रमणका क्रममा शाक्यले काठमाडौंको सांस्कृतिक पर्यटन र पोखराको प्राकृतिक पर्यटनलाई जोडेर पर्यटन प्रवद्र्धनको काम गर्न सके यस व्यवसायबाट मुलुकको आर्थिक समृद्धिमा ठूलो टेवा पुग्ने बताए।

सो अवसरमा पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले कामपा जेठो महानगर र सङ्घीय राजधानीको महानगरपालिका भएकाले उसले सबै पालिकाको समस्या समाधानका लागि नेतृत्व गर्नुपर्ने बताए।

Advertisement

सङ्घीय व्यवस्थालाई दिगो बनाउन सङ्घीयताको मर्मअनुसारका सङ्घीय कानुन निर्माणमा ध्यान दिनुपर्नेमा पनि जोड दिँदै जिसीले भने, ‘विविध पहिचानसहितका सहरका समानता खोजौँ । अब नगरले आफूले आफ्ना बारेमा मात्र होइन, अन्य नगरको सम्भावनाका विषयमा कुरा गरौँ । यसले नागरिकमा विश्वास जाग्छ ।’

तहगत प्रणालीमा प्रदेश र सङ्घ सरकारसँग भन्दा नागरिकका समस्या स्थानीय सरकारसँग नजिक हुने हुँदा स्थानीय सरकारका बीच गहिरो सम्बन्ध र सहकार्य जरुरी रहेको कामापाका उपप्रमुख हरिप्रभा खड्गीले बताइन्। रासस