काठमाडौं–कोरोना संक्रमित भएर बिमा दावी गर्ने २० हजारभन्दा बढीले आवश्यक सबै कागजात समयमा नबुझाउँदा उनीहरुको दाबी भुक्तानीमा ढिलाइ भएको छ। संक्रमित भएको मौखिक जानकारी बिमा कम्पनीलाई गराए पनि दाबी भुक्तानीका लागि आवश्यक कागजात समयमै नबुझाएका हुन्।
बिमा कम्पनीहरूले तयार गरेको विवरणअनुसार अहिलेसम्म ३२ हजार ७८४ जना बिमितले आफू कोरोना संक्रमित भएको जानकारी बिमा कम्पनीलाई गराएका छन्। तर तीमध्ये १२ हजार ११८ ले मात्रै कागजात पूरारूपमा बुझाएका छन् भने २० हजार ६ सय ६६ जनाले पूरै कागजात बुझाएका छैनन्।
अहिलेसम्म ४ हजार ९ सय २९ जनाले बिमा दावी भुक्तानी पाएका छन्। उनीहरूले बिमा कम्पनीबाट ४७ करोड ७७ लाख रूपैयाँ दावी भुक्तानी पाएका छन्। कूल ३ अर्ब १८ करोड रूपैयाँ भुक्तानीका लागि बिमा कम्पनीहरूले सूचना पाएका छन्। त्यसमध्ये २ अर्ब ७० करोड रूपैयाँ भुक्तानी दिन बाँकी छ।
प्राप्त विवरणअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ३ हजार ४७ दाबी पठाइएकोमा ११ सय ७२ दाबीको अन्तिम स्वीकृति प्राप्त भएको छ भने १८ सय ७५ स्वीकृतिको चरणमा छन्।
कोरोना बिमाअन्तर्गत अहिलेसम्म १ लाख ५७ हजार ३९५ पोलिसी बिक्री भएका छन्। यी पोलिसीअन्तर्गत १७ लाख १० हजार बिमित छन्। बिमा कम्पनीहरूले यसबाट ९८ करोड ६९ लाख ९७ हजार रूपैयाँ प्रिमियम संकलन गरेका छन्।