April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

‘अहिले शिव र ब्रम्हाजी आए पनि ५ लाख मेट्रिक टन मल ल्याउन सक्दैनन्’: मन्त्री भूसाल

7.1K

काठमाडाैं – कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रह्माजी आए पनि पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन्। 

शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन्। 

कलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भूसालले तर्क गरे। 

Advertisement

‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिक टन आजकै व्यवस्थाबाट शिवजी आए भने पनि, ब्रह्माजी आए पनि सक्दैनन्’, उनले भने, ‘कोलकाताकै पोष्टबाट आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिक टनका लागि दिनदिनै एउटा ट्रेन नेपाललाई डेडिकेटेड हुनुपर्छ। जो दिनदिनै आउनेछ।’

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताएका छन्। अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनको बारेमा कम आलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उनले बताए। कृषि प्राविधिकहरूले प्रविधिभन्दा माथि उठेर काम गर्न सके मात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको बताए।

कृषि व्यवस्थालाई परिवर्तन गर्न पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए। तर त्यसमा पनि धेरै काम गर्न नसकेको उनले स्वीकार गरे।