April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बैतडीमा बलात्कार घटना मिलापत्र गराउने वडाध्यक्षसहित थप चार पक्राउ

2.4K

बैतडी – किशोरी बलात्कार घटना मिलापत्र गराउने वडा अध्यक्षसहित थप चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिगास गाउँपालिका-३ का वडा अध्यक्ष शेरसिंह साउँदसहित थप ४ जना रहेका प्रहरीले जनाएको छ। 

यस्तै, सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको थियो। योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन्।

पीडित पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि जिल्ला अदालत बैतडीबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। बलात्कार घटनाका मुख्य आरोपित सिगास ३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ। उनी पहिला नै भारत भागिसकेको प्रहरीले जनाएको छ।

Advertisement

सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो। तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एक तोला सुन दिने भनिएको थियो। पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो।

यो घटना बाहिर आएपछि प्रहरीले यसलाई गम्भीरताका साथ लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए। यो घटनामा मुख्य आरोपित फरार रहे पनि घटनालाई ढाकछोप गर्ने वडा अध्यक्षसहितका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।