काठमाडौं– सोमबार मात्रै पदमुक्त भएका गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नै आफूले राजीनामा दिन चाहेको बताएका छन्।
मंगलबार पोखरामा बिदाइ पत्रकार सम्मेलन गर्दै उनले आफूलाई त्यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकेको बताए। ‘देशमा ठीक स्थिति आउँदैन भनेर म राजीनामा लेखेर खल्तीमा राखेर गएको थिएँ। म राजीनामा दिँदै छु भनेँ,’ उनले भने, ‘म पदबाट राजीनामा दिन तयार भएको थिएँ, तर प्रचण्डजीले रोकिदिनुभयो। उहाँले अहिले नदिनु भन्नुभयो।’
त्यतिबेला अदालतको निर्णय पनि आइसकेको थिएन। उहाँलाई फेरि एकता हुन्छ भन्ने लागेको थियो होला। ‘फेरि अर्को अवस्था आउला, तपाईं जस्तो सिनियर दाइले यस्तो नगर्नुस् भनेर रोक्नुभयो। र मैले राजीनामा पेश गरिनँ। मचाहिँ त्यतिबेलै राजीनामा दिएर बाहिर आउने पक्षमा थिएँ,’ उनले भने, ‘जनतालाई अपिल गर्ने पक्षमा थिएँ।’
आफूलाई पदमुक्त गर्नुलाई उनले प्रतिशोध भन्दा पनि राजनीतिक दिशा नै एकदम निरंकुशतातिर गइरहेको आफूलाई अनुभूति भएको उनले बताए। ‘निरंकुशताको पराकाष्ठाको एउटा सूचक हो भन्ने मलाई लागेको छ’,’ उनले भने
उनले आफूले पदमा रहँदा गल्ती नगरेको दाबी गरे। ‘तिमीले यहाँनेर गल्ती गर्यौ भनेको भए मैले पछाडि फर्केर हेर्नुपर्ने हुन्थ्यो। हेर्थेँ होला,’ उनले भने, ‘यस्तोयस्तो गल्ती भयो, अब प्रदेश प्रमुख फेर्नुपर्यो भनेको भए म राजीनामा दिन्थेँ। राजनीतिक कारणले पदमुक्त गरिएको भने मैले राजनीतिक पक्षपात गरेको प्रमाण हुनुपर्यो। सरकारले जे ल्यायो। मैले संविधान र नियम हेरेर सदर गर्ने गरेको छु।’
गण्डकी प्रदेशको पछिल्लो विशेष अधिवेशन बोलाउन विषयसँग आफूलाई पदमुक्त गरिएको हुनसक्ने विषयलाई उनले अस्वीकार गरे। त्यसमा कसैले दबाब नदिएको र आफूले कसैसँग सल्लाह पनि नगरी निर्णय गरेको उनले बताए। ‘त्यसमा मुख्यमन्त्रीले पनि केही पनि भन्नुभएको थिएन,’ उनले भने।
शेरचनले आफूलाई प्रधानमन्त्री ओलीले नै पटकपटक प्रदेश प्रमुख बनाउन प्रयास गरेको तर आफूले अस्वीकार गरेको बताए। ‘वास्तवमा असार (२०७६) कै महिनादेखि ओलीजीले मलाई पटकपटक प्रस्ताव गर्नुभयो। मैले अस्वीकार गर्दै आएँ। प्रतिनिधिमार्फत फेरि प्रस्ताव पठाउनुभयो। मैले अस्वीकार गरेँ। अन्ततः उहाँले पार्टीको निर्णय गरेर सुनाउनुभयो। र म यहाँ आएको हो। मैले त्यतिबेला मलाइ यो पदमा नपठाउनुस् भन्थें। म सक्रिय राजनीतिमा विश्वास गर्ने मान्छे हो। म सक्रिय राजनीतिमै आफ्नो जीवन अन्त्य गर्न चाहन्छु,’ उनले भने।
आफ्नो जीवन नै संघर्षमा बिताएको हुनाले अब पनि राष्ट्रियता पक्षमा र भ्रष्टचार तथा कमिशनतन्त्रको विरुद्धमा संघर्ष गरिरहने उनले बताए। ‘म निर्मल लामा प्रतिष्ठानको अध्यक्ष थिएँ। मैले अभियान सुरु गरिसकेको थिएँ। त्यसले एउटा वेभ सिर्जना गरिसकेको थियो। मैले पार्टीको बैठकमा पनि खुला रुपमा प्रस्तावहरु राख्ने गरेको थिएँ। त्यसैले गर्दा पनि होला सायद, मलाई यो खुला जेलभित्र पठाउन भूमिका खेलिएको। मलाई त्यस्तै लाग्छ,’ उनले भने।
गण्डकीको प्रदेश प्रमुखको रुपमा आफ्नो कार्यकाल आनन्दमा बितेको बताए। ‘काम गर्नु छैन। अधिकार केही छैन। आनन्दसँग बसेको छ, खाएको छ।