April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

बझाङमा चरम खडेरी, ४५ प्रतिशत जिल्लावासी भोकमरीको चपेटामा

2.9K

बझाङ। बझाङमा खडेरीका कारण हिउँदेबाली उत्पादनमा ह्रास आएको छ। जिल्लाको सेती, कालंगा, बहुलीगाड र सुनिगाड लगायत नदी र खोला तटमा रहेका र सिँचाइ सुविधा भएका सीमित क्षेत्रबाहेक आकासे पानीको भरमा खेती गरिने सबै स्थानमा उपज उत्पादन घटेको हो।

लामो समयसम्म परेको खडेरीका कारण  गहुँ, जौ, उवा, केराउ र मसुरो लगायत हिउँदेबाली उत्पादनमा ह्रास आउँदा जिल्लामा चरम खाद्य संकट हुने देखिएको छ।

खडेरीका कारण अधिकांश क्षेत्रमा लगायतको हिउँदेबाली सुकेर नष्ट भएको छ। उत्पादन घट्दा कृषिमै निर्भर हुने गरेका र न्यून आयश्रोत भएका परिवारले चरम खाद्यसंकट सामाना गर्नुपर्ने निश्चितजस्तै भएको छ। किसानहरूलाई भोकमरी हुने चिन्ताले सताउन थालेको छ।

Advertisement

बाली भित्र्याउन व्यस्त हुने कृषकहरू यसपालिको खडेरीले चिन्तित बनेका छन्‌। अहिलेको समयमा कृषकहरूलाई लाई गहुँ, जौ, मसुरो लगायत हिउँदेबाली काट्ने चुट्ने र भित्र्याउने हतारो हुन्थ्यो।

‘यसपालि त खडेरी लागेकाले अन्नको बोट पनि देख्न पाइएन,’ थलारा गाउँपालिकाका शेरबहादुर खातीले भने, ‘यो समयमा हामीलाई खानेबस्ने फुर्सदै हुँदैनथ्यो। यसपालि त खेतबारी सबै बाँझो भयो, हिउँदभर पानी परेन। पुस-माघमा पानी परे राम्रै उब्जनी हुन्थ्यो। खडेरीले हामी किसानहरूलाई मर्नु न बाँच्नु बनाएको छ।’

हिउँदेबाली खेतमै सुकेपछि वर्षभरी कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको खप्तडछान्ना गाउँपालिका-७, गोर्खालीका सुर्जन सिंहले बताए। उनले भने, ‘हिँउदभरि पानी नपरेका कारण पाखातिर लगाएको बाली सुक्यो। सिँचाइ हुने ठाँउमा अलिअलि उम्रेको थियो, त्यो पनि असिनाले चुटेर सखापै बनायो। एकातिर खडेरीले सुकायो, अर्कातिर असिनाले सतायो। घरमा अन्न छैन। साँच्चै अनिकाल नै आएको हो कि जस्तो लाग्न थाल्यो। उब्जनी नहुँदा खाद्य संकट हुने चिन्ताले सताउन थालेको छ।’