April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

हिउँ जोगाउने आह्वानसहित सगरमाथा चढ्दै १७ वर्षीय किशाेर ​

4.8K

काठमाण्डाै । ताप्लेजुङको मैयाँखोलाका सोनाम शेर्पा अहिले सगरमाथाको आधार शिविरमा हुनुहुन्छ । ‘प्रकृति जोगाऔँ, हिउँ जोगाऔँ’ भन्ने नारासहित सगरमाथा चढ्न लाग्नुभएका शेर्पा आधार शिविरमा आरोहण तालिममा व्यस्त हुनुहुन्छ । उचाइसँग स्वास्थ्यलाई अनुकूल बनाउन र आरोहणमा प्रयोग हुने उपकरण प्रयोग तथा आरोहणको सीप सिक्दै गरेको शेर्पाले बताउनुभयो । 

भर्खर १७ वर्ष लाग्नुभएका शेर्पा आफ्ना बाबु पिके शेर्पासँगै सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । ‘पृथ्वी जोगाउन जङ्गल र हिउँ जाेगाउन आवश्यक छ’, यही कुरा विश्वलाई सुनाउन र सरोकारवालालाई झककाउन आफूहरू सगरमाथा आरोहणमा निस्किएको पिके शेर्पाले बताउनुभयो ।

पिके शेर्पा सगरमाथाको अनुभवी आरोही हुनुहुन्छ । उहाँले हिमाल सरसफाइ तथा हिउँ जोगाउने अभियान चलाइरहनुभएको छ । बाबुकै पाइला पछ्याउँदै सोनाम पनि सगरमाथा आराेहणमा जानुभएको हो । बाबुछोराले विश्वका सबै महादेशका अग्ला हिमाल आरोहण गर्ने लक्ष्य लिएका छन् । 

Advertisement

आधार शिविरमा रहेका सोनाम शेर्पाले भन्नुभयो, ‘हिउँ रहे पानी रहन्छ, पानी रहे सजीवताको संसार, त्यसैले हिउँ जोगाउनुपर्छ, जलवायु परिवर्तनका कारण जोखिममा परेका देशको सूचीमा नेपाल अगाडि आउँछ, समस्याको कारण हामी कम भए पनि पीडा हामीले बढी पाउँछौँ, त्यसैले विश्वलाई झकझकाउनै पर्छ ।’

बाबुले घरमा गरिरहेका कुरा, बाबुको काम र बाबुसँग सङ्गत भएका संरक्षण अभियन्ताहरूको सङ्गतले उहाँलाई सानै उमेरमा पृथ्वीको चिन्ता गर्ने बनाइदिएको छ । सोनामले भन्नुभयो, ‘कुनै रेकर्ड कायम गर्ने वा घुम्ने हैन, हिउँ जोगाउन विश्वलाई झकझकाउने हाम्रो प्रयास हो । हरेक पाइलामा काललाई जित्नुपर्ने हिमालमा चुनौतीलाई शिरमाथि राखेर सजीवताका लागि यात्रा गर्नेछौँ ।’