विरगञ्ज । पर्सामा पनि बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई नेपाल सरकारले तोकेको मापदण्ड भित्र रही कोरोना संक्रमितको उपचार गर्ने गराउन अनुरोध गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापनका लागि ठाकुरराम बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर स्थापना गर्ने र त्यसको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको छ । त्यस्तै कम्तीमा २०० बेड क्षमतासम्मको कोभिड–१९ संक्रमितको उपचारका लागि डेडिकेटेड अस्पताल स्थापना एवं सञ्चालन गर्ने व्यवस्थाका लागि प्रदेश २ सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।