November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोभिड संक्रमण रोक्न पाथीभरा मन्दिर शनिबारदेखि बन्द

7.3K

ताप्लेजुङ : ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन बन्द हुने भएको छ।

कोरोना संक्रमण बढेका कारण मन्दिर बन्द गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। ‘यहाँ धेरै भक्तजन बाहिर जिल्लाबाट आउनुहुन्छ,’ कार्यकारी निर्देशक मनमणि काफ्लेले भने, ‘शुक्रबार बेलुका सदरमुकाम फुङलिङ आएका र माथिल्लो फेदीलगायत क्षेत्रमा पुगेकालाई शनिबार बिहान पूजा गराएर फर्काउँछौं।’‍

अन्य तीर्थयात्रीलाई मन्दिर नआइदिन समितिले अनुरोध गरेको छ। गत मंगलबार ८ हजार ५५ जनाले मन्दिरमा पूजा गरेको क्षेत्र विकास समितिले जनाएको छ। शनिबार र मंगलबार पाथीभरामा अधिक भीड हुने गरेको छ। 

Advertisement

मन्दिर बन्द गर्ने निर्णय वैशाख ७ गते नै भएको र शनिबारदेखि कडाइका साथ लागू गर्ने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। ‘झापा, इलाम र पाँचथर प्रशासनसँग पनि समन्वय गरेको छु,’ पाण्डेले भने, ‘मन्दिरका लागि हिँडेकालाई त्यहीबाट फर्काइदिन अनुरोध गरेको छु।’ सरकारले भने यसअघि नै मठ, मन्दिर, गुम्बा, चैत्य बन्द गर्ने निर्णय गरिसकेको छ।

पाथीभरामा यो सिजनमा अधिक तीर्थयात्री आउने गरेका छन्।