कञ्चनपुर : कृष्णपुर नगरपालिका – ६ बालुवाफाँटामा रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ। नीजि क्षेत्रको १३ करोड ७५ लाखको लगानीमा नेपाल फर्टिलाईजर इन्डष्ट्रिज प्रालिले सञ्चालनमा आउन लागेको हो।
इन्डष्ट्रिजको सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी र कर्ण बहादुर हमालले संयुक्त रुपमा शिलान्यास गरे। शिलान्यास कार्यक्रममा जोशीले मल उद्योग सञ्चालनमा आएपछि किसानले मल पाउन खेप्नुपर्ने सास्तीको अन्त्य हुने बताए।
‘रासायनिक मलकै लागि किसानले भारतीय क्षेत्रमा जानु पर्ने बाध्यता थियो’ उनले भने, ‘कारखाना सञ्चालन भएपछि मलको अभाव हट्ने छ।’ कारखाना सञ्चालनका लागि आवश्यक सहयोग गर्न तत्पर रहेको उनले बताए। नगर प्रमुख हमालले मल कारखानालाई नगरकै गौरवकाे योजनाका रुपमा लिएको बताए।
‘नगरपालिकाबाट हुन सक्ने सहयोगका लागि सधै प्रतिवद्ध छौं’ उनले भने,‘कारखाना सञ्चालनका लागि आवश्यक पर्ने सहयोग सदैव रहने छ।’ कारखानालाई असार महिना भित्रै सञ्चालन गर्ने गरी कार्य अगािड बढाइएको छ। पोटास, एनटिके र डीएपी मल कारखानाले पहिलो चरणमा उत्पादन गर्ने लक्ष्य लिएको छ। ‘पोटास मल असारदेखि उत्पादन गर्छौ’ कारखानाका सञ्चालक उमाकान्त जोशीले भने,‘आउँदो मंसिर, पुस महिना भित्रै अरु दुई मल उत्पादनको कार्य अगाडि बढाइन्छ।’
मलका लागि आवश्यक पर्ने कच्चा पदार्थका रुपमा बैतडीमा रहेको फास्फोरसको प्रयोग गरिने उनले बताए। कारखानाका लागि आवश्यक पर्ने अन्य केमिकल, मेसिनलगायत जर्मनीबाट ल्याउने योजना कारखाना सञ्चालकहरुको रहेको छ।
कारखानाले वार्षिक रुपमा १० हजार मेट्रिकटन मल उत्पादन गर्ने लक्ष्य लिएको छ। कारखानाका लागि भौतिक संरचना निर्माणको शुरुवातको कार्य भइसकेको छ। स्वदेशी कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने मल कारखाना नेपालकै पहिलो हुने सञ्चालकहरुको दाबी छ ।