गोरखा : धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुस्पी पाखामा निर्माण गरिएको एकीकृत नमुना बस्तीका स्थानीयलाई घरको लालपुर्जा हस्तान्तरण गरिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको टोलीले बिहीबार स्थानीयलाई औपचारिक रुपमा बस्ती हस्तान्तरण गरेका हुन्।
स्थानीय डम्बर सिंह गुरुङलाई लालपुर्जा दिएसँगै औपचारिक रुपमा बस्ती हस्तान्तरण सुरु गरिएको गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार इकाइ (जिमाली)का गोरखाका प्रमुख रामशरणका आचार्यले जानकारी दिए।
६१ करोड ४० लाख २८ हजार लागतमा ५ सय ७३ घर निर्माण गरिएको एनआरएनले जनाएको छ। बस्ती निर्माणका लागि स्थानीय लाभग्राहीहरुले प्रतिघर ४० बोरा गिटी र ८ टयाक्टर ढुङ्गा श्रमदान गर्नुपर्ने थियो। प्रत्येक घर तीन आना तीन पैसा जग्गामा निर्माण भएको छ।
नमुना बस्तीमा आवश्यक भौतिक पूर्वाधार निर्माण काम भने प्राधिकरणले गर्ने आचार्यले बताए। ‘बस्तीमा नाली, पर्खाल, गोरेटो बाटो लगायतका भौतिक संरचना निर्माणका लाग २२ करोड रुपैयाँ विनियोजना भएको छ। यो बहुवर्षीय योजना हो। अहिले ठेक्का प्रक्रिया अघि बढिरहेको छ,’ उनले भने।
एक घरधुरी बराबर पाँच लाख दरले खर्च गर्ने गरी भौतिक संरचना निर्माण हुने हुने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए। एनआरएनएले बस्ती निर्माण कार्य सुरु गरेको ६ वर्ष पछि मात्र स्थानीयहरुले नयाँ घर पाएका हुन। एकीकृत बस्ती करिब १८ दशमलव ३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। बस्ती निर्माण गरिएका घर गोलाप्रथाबाट यसअघि नै छनोट गरिसकेका छन्।
२०७२ वैशाख १२ को भूकम्पले लाप्राकका पुरानो गाउँ अतिजोखिममा परेपछि गुप्सीपाखामा बस्ती निर्माणका लागि प्राधिकरण, सहरी विकास मन्त्रालय र एनआएनएबीच २०७३ वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो।
सम्झौता भएअनुसार दुई वर्षमा बस्ती निर्माण कार्य सक्ने लक्ष्य लिए थियो। तर, बस्ती निर्माण कार्यमा भने ढिलाइ हुँदै आएको थियो।