April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एकै स्थानमा ६७ गिद्ध मृत भेटिए

9.4K

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरमा एकै स्थानमा ६७ वटा गिद्ध मृत फेला परेका छन् । जीतपुरस्थित एक पोखरीको डिलमा लोपोन्मुख गिद्ध मृत फेला परेका हुन् ।

लोपोन्मुख अवस्थामा रहेका गिद्ध एकै पटक ठूलो संख्यामा कसरी जीतपुर आइपुगे र मृत्यु कसरी भयो भन्नेमा अहिले अनुसन्धान भइरहेको छ । ३३ वटा डंगर गिद्ध , ३१ वटा हिमाली गिद्ध , २ वटा राज गिद्ध र सानो खैरे एक गिद्ध गरेर ६७ वटा मृत अवस्थामा भेटिएको र एक हिमाली गिद्ध जिवितै भेटिएकाले उपचार भइरहेको पश्चिम नवलपरासी जिल्ला पशुपन्छी विज्ञ कार्यालयका प्रमुख भरत काफ्ले बताए ।

अहिले विज्ञसहितको टोलीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ । गिद्ध मरेको स्थानमा दुई वटा कुकुरका शव खुला स्थानमा र थप दुई वटा कुकुरको शव बोरामा राखिएको अवस्थामा भेटीएकाले विषादी प्रयोग गरेर कुकुर मारिएको र कुकुरको सिनो खाना गिद्ध मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ । नेपालमा अहिले गिद्ध संरक्षणका लागि सरकारी तवरबाटै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । लोप हुन लागेको गिद्ध एकै पटक ठूलो संख्यामा मृत अवस्थामा भेटिनु ठूलो क्षति भएको पक्षी संरक्षणविद् डीबी चौधरीले बताए ।

Advertisement