सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाको देउरालीमा आज (बुधबार) देखि प्रथम सन्दकपुर गोल्डकप २०७७ सुरु हुँदैछ ।
देउराली स्पोर्टिङ क्लबको आयोजनामा सुरु हुने गोल्डकपको उद्घाटन खेल आयोजक देउराली स्पोर्टिङ क्लब र देउमाई फूटबल क्लबबिच हुनेछ । प्रतियोगितामा इलाम, पाँचथर र झापाका १४ वटा चर्चित क्लबहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा बिजेता हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपबिजेता हुने टिमले ५० हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा म्यान अफ द म्याच घोषित हुने प्रत्येक खेलाडिलाई नगद २ हजार दिइने आयोजकका अध्यक्ष लिलबहादुर बुर्जा मगरले जानकारी दिए । गोल्डकप सम्पन्न गर्न करीब ९ लाख २९ हजार ६ सय ६६ रुपैयाँ अनुमानित लागत लाग्ने आयोजकका सूचना संयोजक श्यामकुमार राइले जानकारी दिए ।
त्यसका लागि गाउँपालिकाबाट ३ लाख रुपैयाँ प्राप्त हुनेछ । अन्य प्रायोजक र सहप्रायोजकबाट प्राप्त हुने राइले बताए । प्रतियोगिताको फाइनल नयाँ वर्षमा हुनेछ ।