इलाम : लिम्बू विद्यार्थी मञ्च जिल्ला कार्यसमिति इलामकाे आयोजनामा सञ्चालित १५ दिने लाेकसेवा आयाेगकाे निशुल्क तयारी कक्षा शनिबार सम्पन्न भएकाे छ । मञ्च २३ औँ वर्षमा प्रवेश गरेकाे अवसरमा आयाेजित कक्षा गत ०६ गते देखि हिजाे २१ गतेसम्म सञ्चालन भएकाे थियाे । कक्षाकाे हिजाे शनिबार एक समापन समाराेहबीच समापन गरिएकाे हाे ।
इलाममा लाेकसेवा तयारी गरिरहेका र निजामति क्षेत्रमा प्रवेश गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर आयाेजना गरिएकाे तयारी कक्षामा झण्डै १ सय पचास जना विद्यार्थीहरुले लाभ लिएका छन् । जसमध्ये नियमित रुपमै कक्षा लिनेकाे संख्या भने ४५ जना रहेकाे आयाेजकले जनाएकाे छ ।
तयारी कक्षालाई निजामति क्षेत्रका उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत शाखा अधिकृत अर्जुन कुलुङ राई, नायब सुब्बाद्वय दिलकुमार लिम्बू र खगेन्द्र आङदेम्बे, जिल्ला निर्वाचन कार्यालय इलामका नायब सुब्बा/कम्प्युटर अपरेटर कृष्ण सुब्बा, मालपाेत कार्यालय इलामका लेखापाल/नायब सुब्बा मनाेज याेङहाङले सहजिकरण गरेका थिए ।
आयाेजकले तयारी कक्षालाई पहिलाे चरणकाे रुपमा अघि सारेका थिए । पहिलाे चरणकाे कक्षामा जिके र आईक्यू पढाईएकाे थियाे । कक्षाले नायब सुब्बा र खरिदार लगायतका तयारी गरिरहेकालाई टेवा पुगेकाे छ ।