काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको शव दिनहुँ जस्तो नेपाल आइरहेकै हुन्छ । यसबीच आज (आइतवार) पनि एकै दिन मलेसियाबाट १२ जना नेपालीको शव त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।
सधै विमानस्थल हुँदै विदेश जाने नेता उक्त शव बुझ्ने प्रक्रियामा कमैमात्र पुग्ने गरेका छन् । आज जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भने विमानस्थलमा शव बुझ्न आफन्तसँग पुगेका छन् ।
आज विदेशबाट आएको शवमध्ये दुई जना गोरखाका थियो। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय सूर्य विश्वकर्मा र गोरखा नगरपालिका वडा नम्बर १२ का २७ वर्षीय मेघबहादुर कुँवरको शव मलेसियाबाट ल्याइएको हो ।
आफ्नो निर्वाचन क्षेत्रका युवाको वैदेशिक रोजगारीका क्रममाः निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलको भनाई छ ।
पूर्व प्रधानमन्त्री समेत रहेको भट्टराईले पनि वैदेशिक रोजगारीमा गएका १२ जना युवाको शव एकैदिन विमानस्थल आइपुगेको कुरा सामाजिक सञ्जालमाफृत उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो!तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र!’