२७ मार्च शनिबारका दिन नेपाली राजदूतावास मस्कटले ”नेपाल-ओमन लिटरेचर एण्ड नेचर: पोस्थामस रेकग्निसन टु लेट मि. मोहम्मद अल हार्थी, द एतर्नल ट्राभलर” विषयमा साहित्य र पर्यटन सम्बन्धी एक वेभिनार आयोजना गरेको थियो ।
काठमाडौं सेरोफेरोका महत्त्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेख्नुभएका ओमानी नागरिक स्व. मोहम्मद अल हार्थीले नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदरस्वरूप मरणोपरान्त सम्मान प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो।
ओमानका लागि नेपालका राजदूत सर्मिला पराजुली ढकालले कार्यक्रमको औचित्यता सम्बन्धमा शुरूवाती मन्तव्य राख्नुभएको कार्यक्रममा दूतावासका द्बितीय सचिव सोमेश थापाले नेपाल तथा ओमानबाट कार्यक्रममा सहभागी भएका विशिष्ट वक्ताहरूको संक्षिप्त परिचय सहित सम्पूर्ण सहभागीहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा ओमानी लेखिका अझहर अल हार्थीले स्व. मोहम्मद अल हार्थीको भ्रमण तथा लेखनको बारेमा आफ्ना संक्षिप्त भनाइहरू राखेका थिए । सो अवसरमा राजदूत सर्मिला पराजुली ढकालले स्व. मोहम्मद अल हार्थीको सम्मानमा एक सम्मान-पत्र हार्थीको छोरी तथा बाल चित्र पुस्तक लेखिका तथा प्रकाशक इब्तिहाज अल हार्थीलाई प्रदान गरेका थिए । स्वर्गीय पिताको सम्मानमा नेपाली दूतावासद्बारा प्रदान गरिएको सम्मान-पत्र स्वीकार गर्दै इब्तिहाजले आफ्नो परिवार तथा व्यक्तिगत तर्फबाट सम्मानको लागि धन्यावाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा राजदूतज्यूद्बारा स्व. मोहम्मद अल हार्थीको नाममा बनाइएको वेभसाईटको शुभारम्भ गरिन् ।
स्व.मोहम्मदद्बारा नेपालको भ्रमण सम्बन्धमा लिखित पुस्तकका अनुवादक डा. ईथान कोरिनले पुस्तकको अनुवाद अनुभव लगायत बारेमा संक्षिप्त भनाइ राखेको त्यसैगरी नेपालबाट कार्यक्रममा सहभागी मान्सी अग्रवालले नेपालको बारेमा पुस्तक लेख्ने तथा नेपालको पर्यटन प्रबर्द्धनका सहयोग पुर्याउने विदेशी नागरिकहरूलाई नेपाली राजदूतावास मस्कटले गरेको सम्मानको प्रशंसा गर्दै आफ्नो नेपाल बसाईका साथै नेपालको विविध प्राकृतिक वातावरण, जीव तथा वनस्पति लगायत विविध पर्यटकीय गतिविधिको बारेमा संक्षिप्त भिडियो सहितको प्रस्तुति दिएका थिए ।
कार्यक्रममा प्रा. तुलसी दिवसले स्वर्गीय ओमानी लेखकप्रति सम्मान व्यक्त गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै कविताको माध्यमबाट मानिसलाई कसरी प्रकृतिसँग आबद्ध गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना विचारहरू राखे । सोही अवसरमा नेपालका विविध संस्कृतिको बारे संक्षिप्त जानकारी प्रस्तुत गर्दै भाषा, कला र विविध संस्कृतिले अनौपचारिक कूटनीतिमा पार्ने प्रभाव सम्बन्धमा समेत प्रकाश पारे ।
त्यसैगरी मध्यपूर्वको मरुभूमि “एम्प्टी क्वार्टर” पार गरेकी ओमानी नागरिक बैदा अल जद्जाली तथा जेनी मेक्गीलले आफ्नो साहसिक यात्राको बारेमा अनुभव बाँड्दै स्व. मोहम्मद अल हार्थीको लेखनबाट नेपालको बारेमा जान्ने मौका प्राप्त भएको बताए । नेपालका प्रसिद्ध युवा कवि नवराज पराजुलीले पुस्तक भाषानुवाद सम्बन्धी आफ्नो अनुभवहरू साट्दै मोहम्मद अल हार्थीको योगदान कति महत्वपूर्ण छ भन्ने बारे आफ्नो धारणा राख्नु राखेका थिए ।
कार्यक्रममा सगरमाथा आरोही प्रथम ओमानी महिला नादिरा अल हार्थी, इन्टरनेशनल डिप्लोमेसी एण्ड प्रोटोकल अध्ययन संस्थानकी अध्यक्ष इनेस पिरेस, लेखिका लक्ष्मी कोथानेथ, शिक्षाविद् तथा महिला व्यावसायी म्यागी जीन्स ओ बि इ, समाजसेवी तथा २०१९ की ओमानी वर्ष महिला डा. राज्यश्री नारायनकुर्ती, ओमानको स्वास्थ्य मन्त्रालयबाट डा. अमिरा अल रैदान, नेपाली सोसल क्लबका अध्यक्ष विकल झा लगायतले कार्यक्रममा आफ्ना भनाइ तथा अनुभवहरू बाँडेका थिए ।
कार्यक्रमको अन्त्य राजदूत सर्मिला पराजुली ढकालले नेपाल र ओमानबाट कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउनुभई विचार तथा अनुभवहरू धैर्यतापूर्वक आदानप्रदान गरी कार्यक्रमलाई सफल बनाउनु भएकोमा सम्पूर्णलाई धन्यावाद ज्ञापन गर्दै सहभागीहरूलाई नेपाल भ्रमण गर्न आव्हान गरि कार्यक्रमको समापन गरेका थिए । उक्त कार्यक्रममा विमल ढकाल, समाजसेवी डा. चित्रा नारायण, बेलायती यात्री मे.ज. रिचार्ढ स्ट्रानफोर्ड, राजदूत रलेह सुलेमानी अल हादी, एनआरएनए का प्रवक्ता डि बी क्षेत्री, ओमानस्थित नेपाली समुदायका प्रतिनिधिहरू, नेपाली दूतावास ओमानका कर्मचारीहरू लगायत करीब ५० जना सहभागी रहेको ओमन स्थिति दूतावासले पेश विज्ञप्ति मार्फत जनाएको छ ।