काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ। महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि भइरहेको प्रदर्शनलाई लक्षित गर्दै आयोगले कुनै पनि आपराधिक घटनामा कानुन बमोजिम कारबाही गर्ने कार्यमा नेपाल प्रहरीलाई आवश्यक सहयोग पुयाउन र प्रदर्शनका क्रममा संयमता अपनाई विरोध प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनकारीलाई आग्रह गरेको हो।
आयोगको प्रदेश २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको आयोगद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ। ‘प्रहरीले चलाएको गोली लागी महोत्तरीको बर्दिवास नगरपालिकाका सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको तथा अन्य व्यक्तिहरू घाइते भएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको छ’, विज्ञप्तिमा भनिएको छ।
महिला तथा बालबालिका उपर देशका विभिन्न भागमा हुने गरेका हिंसात्मक घटनाहरूबाट नागरिकको जीवनको अधिकारको रक्षा गर्न सुरक्षा निकाय तथा नागरिकहरू सतर्क र सचेत रहन जरूरी देखिएको आयोगको भनाइ छ।