April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रिन्सिपलबाटै बालिकामाथि यौन दुर्व्यवहार

3K

कपिलवस्तु  –  साना बालिकामाथि यौनजन्य व्यवहार गर्ने कपिलवस्तुका एक प्रिन्सिपल प्रहरीको फन्दामा परेका छन्। बुद्धभूमि नगरपालिका-१० भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मिमि भनिने मोहम्मद हुसेनलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मंगलबार पक्राउ गरेको थियो।

जिल्ला सदरमुकाम तौलिहवा बस्दै आएका हुसेनलाई स्थानीयले विद्यालयबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोरुसिंगेलाई खबर गरेका थिए। गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले यौन दुर्व्यवहारको विषयमा थप अनुसन्धान भएको बताएका छन्।

प्रहरीका अनुसार हुसेनले विद्यालयको कक्षा ३ मा पढ्ने ११ वर्षकी बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेका थिए। घटनाको पूरा विवरण थप अनुसन्धानपछि पत्ता लाग्ने प्रहरीको भनाइ थियो। प्रिन्सिपलले बालिकाहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर नग्न बनाएर सुत्न लगाउने, यौन अंगहरू चलाउने र आफ्ना यौन अङ्ग चलाउन लगाउने गर्दै आएका पीडित बालिकाले बताएका छन्।

Advertisement

यसरी सार्वजनिक भयो घटना

कपिलवस्तु नगरपालिका बस्ने ११ वर्षकी बालिका पढ्नका लागि सोमबार विद्यालयमा पुगेकी थिइन्। पिन्सिपलले यौन दुर्व्यवहार गरेर डराएकी ती बालिकाले शनिबार मात्र आफ्ना आमासँग घटनाको बारेमा बताएकी थिइन्।

बुवा आमाले थाहा पाएपछि प्रिन्सिपलको कर्तुत बाहिर आएको थियो। उनीमाथि कक्षा २ मा पढ्दै गर्दाबाट प्रिन्सिपल हुसैनले दुर्व्यवहार गर्दै आएका थिए। घटना लुकाउनका लागि हुसेनले बालिकाहरूलाई डर त्राससमेत देखाउँदै आएका थिए। आँखामा पट्टी लगाएर कार्यालयको ढोका र झ्याल बन्द गरी कक्षा २ मा पढ्दादेखि कपडा खोल्न लगाई यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताइन्।