तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनका लागि बाख्राको पाठी र कृषकलाई मकैको बीउ वितरण गरेको छ ।
गाउँपालिकाले बन्दीपुर–१ का सात अपाङ्गता भएका व्यक्तिलाई मूल पूँजी बीउअन्तर्गत एक÷एक बाख्रा र पालिकालाई बीउमा आत्मनिर्भर बनाउन मकैको बीउ वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी र वडाका वडाध्यक्ष भानुभक्त पोखरेलले संयुक्तरूपमा अपाङ्गता भएकालाई बाख्राको पाठी हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाको आर्थिक सहयोग तथा नेत्रहीन सङ्घको आयोजनामा एक कार्यक्रमका बीच बाख्रा वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
न्यून आय भएका तथा विपन्न वर्गका विशेषगरी नेत्रहीनसम्बन्धी अपाङ्गता भएका छनोट गरी बाख्रा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए।
लक्षित वर्ग कार्यक्रमअन्तर्गत मूल पूँजी बीउअनुरुप ७५ हजार बराबरको बाख्रा वितरण गरिएको हो ।
उनीहरुलाई बाख्रापालनतर्फ आकर्षित गराएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको छ । गाउँपालिकाले शुरुमा सानो सहयोग गरे पनि पछि यसबाट राम्रो उत्पादन गरी व्यावसायिकरूपमा लाग्न हौसला मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।