काठमाडौं- केही दिनयता कतार रोजगारीमा अनधिकृत रुपमा कामदार पठाउने काममा म्यानपावरहरु नै सक्रिय देखिएका छन्। केही म्यानपावरहरुले पूर्वस्वीकृति नै नलिएको डिमाण्ड देखाएर कामदारहरुलाई अन्तर्वार्ता लिइरहेको पाइएको छ।
सोमबार र मंगलबार दुई दिनमा मात्रै वैदेशिक रोजगार विभागले अनधिकृत रुपमा कामदारको अन्तर्वार्ता लिइरहेको अवस्थामा ३ वटा म्यानपावर कम्पनीमा छापा मारेको छ।
विभागले सोमबार एसओएस म्यानपावर र डीडी ह्युमन रिसोर्स म्यानपावरमा छापा मार्ने क्रममा करिब ८ सय युवाहरुलाई कतार पुलिसको काममा पठाउने भन्दै पूर्वस्वीकृति नै नलिएको डिमाण्ड देखाएर अन्तर्वार्ता लिइरहेको फेला पारेको थियो। मंगलबार होप इन्टरनेसनल म्यानपावरले समेत कतार रोजगारीका लागि पठाउने भन्दै पूर्व स्वीकृति नलिई अन्तर्वार्ता लिइरहेको अवस्थामा विभागको टोलीले छापा मारेको थियो।
कानुनी व्यवस्थाअनुसार म्यानपावरले कामदारको मागपत्र विदेशस्थित नेपाली नियोगबाट प्रमाणीकरण गराउनुपर्दछ। प्रमाणीकरण भएर आएको मागपत्रमा वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिनुपर्छ। मागपत्रको पूर्वस्वीकृतिपछि मात्रै कामदारको अन्तर्वार्ताका लागि मिति तय गर्न सक्छ।
यो सबै जानकारी वैदेशिक रोजगार विभागमा गराउनुपर्छ। तर म्यानपावरहरु आफूखुसी कामदारहरुको अन्तर्वार्ता लिँदै अवैध रुपमा ओसार्ने काममा सक्रिय रहेको पाइएको छ।