April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लकडाउनको एक बर्षः फेरि बढ्न थाल्यो कोरोना संक्रमणको जोखिम

3K

काठमाडौं । कोरोना महामारीका कारण नेपालले लकडाउन गरेको आज एक वर्ष पुगेको छ । गत वर्षको चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गराएको थियो ।

शुरुमा एक हप्ताका लागि भनिएपनि पटक, पटक समय थप गरी चार महिनाभन्दा बढी समय नेपालमा लकडाउन कायम रहेको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै भदौबाट मात्र केही सहज अवस्था भएको थियो।

लकडाउनको वर्ष दिन बित्न नपाउँदै नेपालमा कोरोनाको दोस्रो लहर सुरु हुने सम्भावना उच्च बनेको छ । दैनिक ५०/५५ जनामा सीमित संक्रमित संक्रमण दर ह्वात्तै बढेर १८८ जनासम्म पुगेको छ । मंगलबार मात्रै १८८ जना नयाँ संक्रमित थपिएका छन् । केही दिन अघिसम्म यो सङ्ख्या सयभन्दा कम थियो ।

Advertisement

केही दिनयता भारतका केही स्थानमा हालसम्मकै धेरै सङ्ख्यामा कोरोना संक्रमित बढ्न थालेपछि नेपालमा पनि सतर्कता अपनाइएको छ । खासगरी भारतसँगको खुला सिमाना भएका कारण नेपालमा कोरोना संक्रमणको जोखिम उच्च बनेको हो ।

भारतसंगका केही सीमानाकाहरुमा कडाइ गर्ने क्रम सुरु भएको छ भने केहीमा बेपरवाह आवागमन जारी छ । सीमानाकामा कडाइ गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनिसकेको छ । सम्बन्धित क्षेत्रका स्थानीय प्रशासनहरुले पनि आजदेखि कडाइ गर्ने बताइरहेका छन ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार केही दिनअघिसम्म एक, दुई जना मात्र कोरोना संक्रमितका बिरामी हुने गरेकोमा हाल सात जना भर्ना हुने गरेका छन। सात जनामध्ये पाँच जना आईसीयू तथा दुई जना आइसोलेसन वार्डमा उपचाररत छन् ।

सातदेखि १० प्रतिशत रहेका संक्रमित मंगलबारसम्म आइपुग्दा २० प्रतिशतले वृद्धि भएपछि पछिल्लो समय मानिसले कोरोनालाई बेवास्ता गर्न थालेको भन्ने अनुमान पनि गर्न सकिन्छ ।

आजकल धेरैजसोले सार्वजनिक यातायातमा वा सडकमा हिंड्दा मास्कको प्रयोग गर्न छाडिसकेका छन । कोरोनालाई बेवास्ता गरे यसको दोस्रो लहर पहिलेको भन्दा बढी खतरनाक हुनसक्ने विज्ञहरुले चेतावनी दिदं आएको छन् ।

स्वास्थ्य मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सभा, सम्मेलन, धर्ना, जुलुस, जमघटजस्ता कार्य गर्न बन्द गर्नुपर्ने जनाएको छ । नागरिकहरु आफैं सचेत बन्नुपर्ने मन्त्रालयले जनाएको छ । सबैले आ–आफ्नो ठाउँबाट सचेत र सर्तकता अपनाएर कोरोनालाई परास्त गर्न मन्त्रालयले आग्रह गरेको छ ।