काठमाडौं – नेपालबाट हङकङ जाने यात्रुले अबदेखि सरकारी ल्याबमै कोरोना परीक्षण गर्नुपर्ने भएको छ। काठमाडौंबाट हङकङ गएका यात्रुमा कोरोना देखिएपछि हङकङ सरकारले नोभेम्बर २५ सम्मको लागि नेपाल वायुसेवा निगमको जहाजलाई उडान प्रतिबन्ध लगाएको हो।
यसअघि, हङकङ जाने यात्रुले निजी ल्याबमा गरिएको कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट आएमा सहजै उडानको लागि अनुमति पाउने गरेका थिए। ७२ घण्टाभित्रमा गरिएको कोरोना परीक्षणको मान्यताअनुसार कोरोनाको रिपोर्ट नेगेटिभ आएमा सहजै यात्रुलाई हङकङ उडानको लागि अनुमति दिने गरेको नेपाल वायुसेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्।
‘हङकङ गएका यात्रुमा कोरोना पोजेटिभ देखिएकाहरुको विषयमा स्वास्थ्य मन्त्रालयलाई पत्र काटी छानविन गर्नलाई अनुरोध गरिएको छ,’ उनले भनिन्,’ पोजेटिभ आएपछि नियमित उडान रोकिएको हो। अबदेखि उडानको लागि कोरोना परीक्षणको प्रमाणपत्र कडाइको साथ निरीक्षण गरिन्छ।’
प्रवक्ता श्रेष्ठका अनुसार अहिले हङकङले नेगेटिभ रिर्पोट बोकेका यात्रुको पनि पुनः परीक्षण गरिरहेको छ। दुबईमा नेपालबाट गएका यात्रुमा कोरोना पुष्टि भएको छ। नेपालबाट जापानको नारिता पुगेका यात्रुमा समेत कोरोना पोजिटिभ देखिएको छ। नेपाल एयरलाइन्सले सबैतिरबाट प्रतिबन्धको चेतावनी पाएको छ।
यसअघि, नेपाल एयरलाइन्सको ए ३२० विमानबाट २९ सेप्टेम्बरमा हङकङ अवतरण भएका ६ यात्रुमा कोरोना संक्रमण देखिएको हो।