April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोभिड विरुद्दको खोपको दोस्रो चरणमा पेशालाई नभएर उमेर समुहलाई प्राथमिकता दिइने

२०७७ फाल्गुन १५

6.4K

लण्डन । बेलायतमा नागरिकहरुलाई कोरोना विरुद्दको खोप दिइरहँदा काम र पेशालाई प्राथमिकता दिइंदै आएकोमा अब उप्रान्त उमेर समुहलाई प्राथमिकताको आधार मानिने भएको छ ।

चिकित्सा विज्ञहरुले सरकारलाई पेशाको आधारमा भन्दा उमेर समुहको आधारमा खोप अभियान अघि बढाउनु बढी प्रभावकारी हुने सल्लाह दिएपछि सरकार उक्त निर्णयमा पुगेको कुरा स्वास्थ्य मन्त्री म्याथ्यू ह्यान्ककले बताए ।

सरकारको यस निर्णयबाट हाल जारी पहिलो चरणको खोप अभियान पुरा भएपछि सबैभन्दा पहिले ४० देखि ५० बर्ष उमेर समुहकाले कोभिडविरुद्दको खोप पाउने निश्चित भएको छ, तर शिक्षकहरुको सस्थाले सरकारको यो निर्णयले स्कूले नानीहरुको शिक्षामा अवरोध खडा गर्ने भन्दै त्यसको विरोध गरेका छन् ।

Advertisement

हाल जारी पहिलो चरणको खोप अभियानमा १ करोड नब्बे लाख जनाले कम्तिमा पहिलो राउण्डको खोप लिइसकेका छन् ।

जनवरी महिनामा सुरु गरेर अप्रिलको अन्तमा पहिलो चरणको खोप अभियान पुरा गर्ने लक्ष अन्तर्गत हाल काम वा पेशालाई प्राथमिकताको आधार मानिएको छ र बिशेष गरी निश्चित स्वास्थ्य जटिलतामा रहेका बिरामीहरु, स्वास्थ्य कर्मचारीहरु, प्रहरी, शिक्षक र अन्य आपत्काली सेवाका कर्मचारीहरुले कोभिड विरुद्दको खोप लिइरहेका छन् ।

यदि पहिलो चरणको खोप अभियान अपेक्षित रुपमा पुरा भएमा दोस्रो चरण मे महिना देखि जुलाई सम्म चल्नेछ । तीन महिनाको उक्त अवधिमा क्रमशः ४० देखि ४९ बर्ष समुह, ३० देखि ३९ बर्ष समुह र १८ देखि २९ बर्ष समुहकाले क्रमश खोप दिइने योजना रहेको इङल्याण्डका उप चिकित्सा अधिकारी प्राध्यापक जोनाथन भान–टामले बताए ।

स्वास्थ्यमन्त्री ह्यान्ककले आज डाउनिङ स्ट्रिटस्थित आफ्नो कार्यालय बाहिर एक प्रेस सम्मलेन गर्दै नागरिकहरुलाई खोप आएको भन्दैमा आफ्नो र अरुको स्वास्थ्यलाई जोखिममा नपार्न पनि निर्देशन दिएका छन् । “यो हतारिने समय होइन, सरकारी नियमहरु अझै पनि सबैले पालना गर्नु पर्नेछ”, उनले भने ।

बेलायतमा कोरोना विरुद्दको खोप लिएर पनि कम्तिमा ३४५ जनाले ज्यान गुमाइसकेका छन् ।