April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राज्यले गोर्खाहरुलाई बेचेर रोयल्टी खाने गरेको रहेछ: नरेश काङमाङ राई [भिडियो सहित]

२०७७ फाल्गुन ११

5.5K

लण्डन – लेखक, साहित्यकार तथा गोर्खा अभियान्ता नरेश काङमाङ्ले २००७ सालको क्रान्ति सफल हुनुमा पूर्व गोर्खाहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । ७० औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति बेलायतद्धारा आयोजित भर्चुअल कार्यक्रममा काङमाङ्ले भने “२००७ सालको प्रजातन्त्र प्राप्तिका लागि गरिएको क्रान्तिमा पूर्व गोर्खाहरुले आ–आफ्नो पल्टन घरबाटै भूमिगत संगठन निर्माण गरेका थिए,” । २००७ साल अघिको भूपू गोर्खाहरुको विरताको इतिहासको चर्चा गर्दै काङमाङ्ले भने “नेपालमा सबै भन्दा पहिले विद्यलयहरु स्थापना हुनुमा गोर्खाहरुको बलिदान, रगत र पसिना मिसिएको छ”, ।

उनले इतिहासमा गोर्खाहरु तीन पटक अयोग्य ठहरिएको बताउदै भने “दोस्रो विश्व युद्द सकेपछि बेलायतले अयोग्य बनाएर गोर्खाहरुलाई नेपाल पठाए, त्यसपछि तिनै गोर्खाहरुले २००७ सालको क्रान्ति लडे दोस्रो पटक नेपाल राज्यले अयोग्य बनायो र तिनै गोर्खाका सन्ततीहरुले जनयुद्द लडे र जनयुद्दमा तिनिहरु अयोग्य ठहरिए, त्यसैले पूर्व गोर्खाहरुको पुस्ताहरु अझै कति सम्म अयोग्य हुनु पर्ने हो त्यो विषयमा नेपाली कांग्रेसले बहसको विषय बनाउनु पर्छ’, ।

बेलायत सरकारले दोस्रो विश्व युद्द भन्दा पहिले गोर्खाहरुलाई भर्ति गराउँदा रोयल्टी दिने गरेको बताउदै काङमाङ्ले वास्तबमा त्यो समयमा नेपालले गोर्खाहरुलाई बेचेको बताए । उनले त्यस्तो अवस्थामा पनि बेचिएका गोर्खाहरुले नेपाल फर्केर २००७ सालको क्रान्ति सफल बनाउने महत्वपूर्ण योगदान गरेको भए पनि पछिल्लो समय राजनितिक नेतृत्व मात्र नभएर कला क्षेत्रका केहि व्यक्तिले समेत पूर्व गोर्खाहरुको विषयमा अतिरञ्जीत र भ्रमित भाषणहरु गर्न थालेको भन्दै असन्तुष्टि जनाए ।

Advertisement

आफ्नो प्रस्तुतिको क्रममा पूर्व गोर्खा सैनिक काङमाङले स्रष्टा विश्वेश्वर प्रसाद कोइरालाले सुन्दरीजल जेलमा रहँदा देवानसिङ राईबाट किराँती सौन्दर्यको ज्ञान लिए पनि सुम्निमा लेख्दा देवानसिङ राईलाई श्रेय नदिएको, र रेडियो नेपाल कुवेरमान राईले माझ किराँतबाट सुरु गरेका भएपनि त्यसको प्रथम श्रेय तारिणी प्रसाद कोइरालालाई दिइएको तथ्यहरु प्रस्तुत गर्दै भूतपूर्व गोर्खाहरुको इतिहासलाई बङ्ग्याएकोमा असन्तुष्टि प्रकट गरे ।

उनले गोर्खाहरुको खुन र पसिनाबाट आएको पैसाले तत्कालकाली ग्रामीण क्षेत्रमा प्राथमिक प्रसुती सेवा, शौचालय, विद्यालय स्थापना गरको भएपनि त्यसको पुग्दो श्रेय गोर्खाहरुलाई नदिइएको तथ्य पनि उजागर गरे । त्यस्तै उनले जनक्रान्तिका सहयोद्दाहरु डा. के. आई. सिंह प्रधानमन्त्री हुनु, नारदमुनी थुलुङ मन्त्री बन्नु, जी. बी. याक्थुङ्बा इलामको बडाहाकिम बन्नु तर संगैका राम प्रसाद राई मारिनु वा हराउनुमा कुनै अन्तरघात त थिएन? भनी एउटा गम्भीर प्रश्न तेर्स्याए । उनले यस विषयमा भविष्यका इतिहासकारहरुले खोजी गर्नु पर्ने महत्व दर्शाए ।

प्रस्तुतिको अन्ततिर उनले गोर्खा सैनिकहरुलाई कसैले एकातिर ‘वीर’ र ‘बहादुर’ को संज्ञा दिए पनि अर्कोतिर ‘रक्त पिपासु’ र ‘क्रुर’ मानवको संज्ञा दिइरहँदा गोर्खाहरुले आफूलाई एक पाटो मात्रै नभएर दुवै पाटाहरुबाट आफूलाई हेर्न पर्ने विचार व्यक्त गरे । उनले भने, “हामी पनि अन्य मानवहरु जस्तै हौं, हामी ‘वीर’ छौं तर ‘कातर’ पनि त हुन सक्छौं; हामी दयालू पक्कै छौं तर कुनै लेखकहरुले भने जस्तै हामी ‘क्रुर’ पनि त हुन सक्छौं । किनभने हामीमा पनि रीस, राग, दया, माया, परमवीरता र काँतरता जस्ता सबै मानवीय संवेदनाहरु निहित छन् । त्यसैले कसैले ‘वीर’ भनेर फुरुक्क पार्दैमा हामी खुशीले फुरुङ्ग हुन र कसैले ‘क्रुर’ भन्दैमा हामीले त्यसलाई अन्यथा लिन जरुरी छैन” ।

उनले नेपालको प्रजातन्त्रको इतिहासको कुरा गर्दै नेपाली राजनितिमा पुरानो ऐतिहासिक इतिहासहरुलाई बङग्याउन थालिएको बताए । स्वर्गीय विपि कोइरालाले आफ्नो कृति ‘सम्निमा’ लेख्दा किरात शौन्दर्यताको विषय देवानसिं राईसँग लिएको बताउदै काङमाङ्ले विपिका अन्य कृतिहरुमा देवानसिं राईलाइ कहि पनि नसमेटिएको बताए । उनले भने “जब, इतिहासहरु बङ्याउन थालिन्छ तब, राजनितिक घटनाक्रम पनि अहिले जस्तै असंवैधानिक वन्दै जान्छ,” ।