April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गोर्खाहरुलाई प्रतिगमन बिरोध ऐक्यवद्दताको लागि धन्यवाद, हामी गोर्खा मुद्दामा साथ छौं : अध्यक्ष प्रचण्ड

२०७७ फाल्गुन १०

7K

लन्डन। २१ फेब्रुअरी शनिबार, नेकपा प्रवास समन्वय कमिटीको संयोजनमा अतिथिहरु नेकपाका अध्यक्ष क. पुष्पकमल दाहाल र स्थायी कमिटी सदस्य क. घनश्याम भुसालको उपस्थितिमा भर्चुअल जूम मार्फत “नेपालको राजनीति: कता जान्छ, के हुन्छ ?” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्रमुख वक्ता अध्यक्ष पुष्पकमल दाहालले “सत्तरी वर्ष लगाएर नेपाली जनताले शान्तिपूर्ण र सशस्त्र संघर्ष गरेर हजारौंको बलिदान र लाखौंको योगदान त्याग तपस्या पसिना मिसिएर प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र र समाबेशी लोकतन्त्र सहितको संबिधान माथिको क्रान्तिकारी हमला हो, प्रतिगमन हो भन्नेमा कुनै दुबिधा नै नरहेको र यसमा हामी सबै स्वदेश र विदेशमा रहने नेपालीहरु एक हुनु पर्छ,” भनेका छन्। त्यस्तै गरि उनले नेपाल बाहिर रहेका नेपालीहरुको कोरोना महामारीको राहतमा भएको भनिएको भ्रष्टाचारको पिडा, खाडी मुलुकमा कार्यरत मजदुरका कोरोना महामारीका कारण देश फर्कन परेको समस्या तथा मजदुर बिधेयक संयोजन संस्थागत गर्ने सम्बन्धि पहलकदमी गर्ने साथै गैरआवासीय नेपालीहरुको दोहोरो नागरिकता पनि कार्यन्वयनमा ल्याउने प्रतिबद्दता व्यक्त गरेका छन् ।

अथिति वक्ता अध्यक्ष दाहालले भूपू गोर्खाहरुले प्रतिगमन बिरुद्ध ऐक्यवद्दता जनाई पठाएको बिरोध वक्तव्यको लागि धन्यवाद दिदैं गोर्खाहरुको समान तलब, पेन्सन र अन्य अधिकारको आन्दोलनमा समर्थन गर्दै पहिले पनि आफुले वेलायत सरकारका प्रतिनिधिहरुसंग वार्ता गरेको र फेरि पनि आन्दोलन टुंगोमा नपुगिन्जेल निरन्तर सहयोग गर्ने प्रतिबद्दता गरेका छन्।

Advertisement

कार्यक्रमका अर्का वक्ता नेकपा स्थायी समिति सदस्य क. घनश्याम भुसालले “अहिले मुलुक असाधारण ऐतिहासिक संकटमा उभिएको छ, जहाँ देश राजा ज्ञानेन्द्रले सर्वसत्ता हत्याएर चुनावमा जाने अवस्था जस्तै स्थितिमा छ,” भनेका छन्। अब के हुन्छ भन्ने सवालमा उनले प्रतिनिधि सभा पुन: स्थापना हुने निश्चित भएको र नभएमा देश संकटकाल तिर बिध्वम्सको बाटोमा जाने छ, प्रधानमन्त्रीको असंबैधानिक कदम नेकपाको मुद्धा मात्रै नभएर नेपालको राजनीतिक मुद्दा र जनताको साझा मुद्दा भएको छ, भनेका छन्। वक्ता भुसालले जनताको बहुदलीय जनवादको नाममा ओलीको चुनाव देखि चुनावसम्मको गोलचक्कर नीतिले स्व. कमरेड मदन भण्डारीको अपमान गरेको पनि बताए।

नेकपा प्रवास समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाईंले अध्यक्षता गरेका उक्त भर्चुअल कार्यक्रमको संचालन प्रवासी नेपाली एकता मंच युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले गरेका थिए भने प्रवास समन्वय सचिव श्रीप्रसाद शाहले स्वागत तथा प्रवासी एकता मंच जापानका अध्यक्ष हर्क थापा र एनआरएन अभियन्ता डि बि क्षेत्रीले धन्यवाद ज्ञापन गर्दै आ-आफ्नो मन्तव्य राखेका थिए।