November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कोरोना प्रभाव नियन्त्रणका लागि जि २० सँग सहकार्य गर्ने जि ७को घोषणा

2.9K

काठमाडौँ – विश्वका ठूला अर्थतन्त्र भएका देश जि ७ का सदस्य राष्ट्रहरुले जि २० समूहसँग मिलेर काम गर्ने घोषणा गरेका छन् । ती देशहरुले विश्वका कैयौँ समस्या समाधानका लागि सँगै मिलेर काम गर्ने बताएका हुन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अन्य पनि कतिपय समस्याको समाधानमा लाग्ने उनीहरुको भनाइ छ ।

संगठनको शुक्रबार सम्पन्न भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अन्य धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा मिलेर काम गर्नेबारे छलफल भएको हो । 
जि ७ का सदस्य राष्ट्र सम्मिलित बैठकले कोभिड १९ का साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय समस्या समाधानका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको जि ७ द्वारा जारी संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ । ‘हामी आगामी दिनमा यस कोभिड १९को महामारीबाट मुक्त हुनुका साथै यसबाट सिर्जना भएको समस्या समाधान गर्ने र यसले पु¥याएको क्षति न्यूनीकरण तथा पुनर्निमाणमा मिलेर काम गर्नेछौँ,’ सो विज्ञप्तिमा भनिएको छ ।

जि ७ को संगठनको अध्यक्षता यस वर्ष बेलायतले गरेको छ । शुक्रबारको सो भर्चुअल बैठकको अध्यक्षता पनि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गरेका थिए । सो बैठकमा हाल कोभिड १९ को विश्वव्यापी महामारीको नियन्त्रणका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामको नेतृत्व विश्व स्वास्थ्य संगठनले गरेकोले त्यस संगठनलाई पनि आवश्यक सहयोग गर्ने बताइएको थियो ।

Advertisement

हाल विश्वमा कोरोना भाइरसको खोप वितरण भइरहेको र त्यस खोप सबैलाई उपलब्ध हुन नसक्ने अवस्था आएमा कोभ्याक्सका माध्यमबाट दिने सहयोगका लागि पनि विश्व स्वास्थ्य संगठनका माध्यमबाट सहयोग उपलब्ध गराउने सहमति सो बैठकमा भएको थियो ।