November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हेर्नुहोस भागरथी हत्याको टाइमलाइन, हत्यारानै समूहमा अपराधीलाई फाँसीसम्मको माग गर्दै थिए

9.1K

काठमाडाै: गत माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई बयान दिएका छन् । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले आफ्नो अपराध स्वीकार गरेका हुन् ।

यस्तो छ भागरथी हत्याको टाइमलाइन
माघ २१ गते बुधबार
माघ २१ गते बिहान ९ बजे भागरथी भट्ट घरबाट स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा पढ्न हिँड्छिन् । उनी करिब १० बजे विद्यालय पुगिन् र प्राथना गरेर कक्षाकोठाभित्र छिर्छिन् । व्यवस्थापन शंकायमा ऐच्छिक लेखा विषय लिएर पढेकी भागरथीको अपरान्ह पौने २ बजे कक्षा सकिन्छ । त्यसपछि उनी घरतर्फ लाग्छिन् ।

भागरथीसँगै उनको घर नजिकैको भाइ भानदेव भट्टपनि सँगै निस्किन्छन्, जो भागरथीसँगै सोही विद्यालयमा पढ्थे । उनीसँगै कक्षा १२ मै पढ्ने केही विद्यार्थी र कक्षा ११ मा पढ्ने केही विद्यार्थी पनि क्लास बंक गरेर निस्किन्छन् । विद्यालयबाट खोचलेक बजारसम्मको दुरी करिब ५ मिनेटको पैदल यात्रामा पर्छ । त्यहाँ भानदेव, उनका एक साथी र कक्षा ११ मा पढ्ने दिनेश भट्ट लगायतका केही कपाल काट्न भन्दै रोकिन्छन् । भानदेवले भागरथीलाई ‘दिदी तपाईंहरु जानुस्, हामी कपाल काटेर आउछौँ’ भन्छन् ।

Advertisement

सपछि भानदेव लगायतका विद्यार्थीहरु बजारमा रोकिन्छन् भने भागरथी र उनका केही केटी साथीहरु बजारबाट छुट्टिन्छन् । बजारबाट भागरथीको घरतर्फ जाने क्रममा २ जना किशोरीहरु आफ्नो चप्पल सिलाउनका लागि जान्छन् । भागरथीकै घरतर्फ पर्ने बाटोमा जाने २ जना किशोरी बाँकी रहन्छन्, भागरथी र ममता भट्ट । तर ममता भट्टको घर काँकडा भन्ने स्थानमा भएकाले उनी भागरथीसँग केही मिनेटको यात्रापछि नै छुट्टिन्छिन् । बजारबाट करिब १० मिनेटको यात्रापछि पुगिने मन्दिरबाट भागरथीलाई हात हल्लाएर ‘बाई’ भन्दै ममता छुट्टिन्छिन् भने भागरथी आफ्नो घरतर्फ अगाडि बढ्छिन् ।

यता बजारमा कपाल काट्न लागेका किशोरहरुको समूहमा रहेकामध्ये एक किशोर त्यहाँबाट निस्कन्छ । ‘सँगै जाउँ’ भन्दा उनले छिटै घर जानुपर्ने छ भन्दै उनी निस्किन्छ भागरथीको पछिपछि लाग्छ । ती किशोर थिए, भागरथीकै घर नजिकैको १६ वर्षीय दिनेश भट्ट, जो भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा पढ्छन् । यता, भागरथी र ममता छुट्टिएपछि दिनेश भट्ट भागरथीभन्दा छिटोछिटो हिँडेर अगाडि जान्छ र लबलेक जङ्गलको खोँचमा गएर बाटो ढुक्न थाल्छ ।

भागरथी खोचलेक बजारबाट करिब १ बजेर ५० मिनेटमा निस्किएको अनुमान प्रहरीको छ । र, खोचलेक बजारबाट घटनास्थल अर्थात् लबलेक जङ्गलको घटनास्थल पुग्न ढिलोमा ४० मिनेट लाग्छ । त्यो भनेको भागरथी घटनास्थल पुग्दा करिब २ बजेर ३० मिनेटको आसपास भएको छ । र, जब भागरथी लबलेक जङ्गलको अलिक खोल्सी परेको स्थानमा पुग्छिन्, दिनेशले भागरथीमाथि जबरजस्ती सुरु गर्छ ।
भारथी सडकबाट भागेर ओरालो जमिनतर्फ अगाडि बढ्छिन् । तर दिनेशले जबरजस्ती गर्न छाड्दैन र भागरथीको कपाल समात्छ । त्यो मुख्य सडकभन्दा करिब २० मिटर तल ओरोलो बाटोमा भएको हुन्छ । दिनेशको हातमा भागरथीको कपाल र रबर बेण्ड आउँछ । भागरथीले अझै प्रतिकार गरेर भाग्ने प्रयत्न गर्छिन् ।

तर आक्रामक स्वभावका दिनेशले भागरथीमाथि आक्रमण गर्न छाड्दैन । सडकबाट ५० मिटर तल दिनेशले भागरथीलाई लडाउँछ । त्यसपछि फेरि भागरथी भाग्न कोशिश गर्छिन् । त्यहाँ भागरथीको चप्पल खुस्किन्छ । तर अग्लो र बलियो दिनेशको अगाडि भागरथीको केही लाग्दैन । त्यसपछि दिनेशले त्यो भन्दा केही तल बनमाराको छेल पारेर समथर भूभागमा भागरथीको मुख थुनेर जबरजस्ती गर्छ र पोल खुल्ने डरले घाँटी थिचेर हत्या गर्छ ।

यो समय करिब २ बजेर ४५ मिनेट हुँदाको हो । हत्यापछि उसले भागरथीको मोबाइलको ‘कल लग’ डिलिट गर्छ र ब्याट्री निकालेर मोबाइल केही तल फालिदिन्छ । दिनेशले कुन उद्देश्यका साथ भागरथीको मोबाइलको ब्याट्री झिक्यो भन्ने खुलेको छैन ।
दिनेश घटनास्थलबाट करिब ७० मिटर हल्का उकालो पर्ने माथितिर लाग्दैन । त्यहाँबाट बिस्तारै बनमारा झाडीको बाटो हुँदै करिब ८ सय मिटर उत्तरपूर्व अर्थात् खोचलेक बजारतर्फ नै फर्किन्छ । यो समय करिब ३ बजेको हो ।

त्यसपछि दिनेश केही समय त्यही वरिपरी अलमलिएको जस्तो देखिन्छ । अनि ऊ बिस्तारै घटनास्थलको बाटो हुँदै आफ्नो घरतर्फ अगाडि बढ्छ । घटनास्थलको केही माथि एक खेलमैदान बन्दै छ । त्यहाँ केही मानिसहरु काम गरिरहेका थिए । खेल मैदानको ठीक तल एक स्थानीयले दिनेशलाई भेट्छन्, जुन समय ३ बजेर २५ मिनेट जाँदाको समय हो । त्यसपछि ऊ अगाडि बढ्छ र घरमा पुग्छ र नियमित काम गर्छ ।

माघ २२ गते बहीबार
घटनाको भोलिपल्ट अर्थात् माघ २२ गते अपरान्ह भागरथीकै साथीहरुले भागरथीको मृत शरीर देख्छन् । उनीहरु गाउँमा गएर घटनाबारे भन्छन् र सबै गाउँले घटनास्थल फर्कन्छन् ।
भोलिपल्ट विद्यालयका सबै विद्यार्थी र गाउँलेहरु घटनास्थल पुछन् र अपराधीलाई फाँसीसम्मको माग गर्छन् । दिनेश पनि त्यही समूहमा नारा लगाइरहेको हुन्छ ।

तर माघ २२ गतेको आन्दोलनमा पनि दिनेश लामो समय घटनास्थलमा बस्दैन । विद्यालयबाट नारा लगाउँदै घटनास्थल पुगेको दिनेश करिब १० देखि १५ मिनेटमात्रै घटनास्थलमा बस्छ । अन्य सहपाठीहरु भागरथीलाई न्याय मागिरहँदा ऊ भने घर जान्छ ।

माघ २३ गते शुक्रबार
अपराधस्थलमा अपराधीले कुनै सुराक छाडेको थिएन । तर पनि थप केही सुराक पाइन्छ कि भनेर प्रहरीले तालिमप्राप्त कुकुर ल्याउने बतायो । तालिमप्राप्त कुकुर ल्याउने भएपछि सुराक पनि खोज्ने र सुँघेरै अपराधी पत्ता लगाउने हल्ला बजारभरि छरिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डिआइजी उत्तमराज सुवेदी आफै कुकुर लिएर घटनास्थल आउने चर्चा चल्यो र कुकुर अत्यन्तै चलाख भएको सुघेरै अपराधी पत्ता लाग्ने हल्ला बजारभरि फैलिन्छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डिआइजी आफै कुकुर लिएर घटनास्थल आइरहेको जानकारी खोचलेक, भागरथीको गाउँ चढेपानी लगायतमा फैलिन्छ ।

नभन्दै माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर र अनुसन्धान टोली घटनास्थल आइपुग्छ । कुकुरलाई घटनास्थलमा लगियो । तर विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँलेहरु घटनास्थलमा बसेर यो सब दृश्य हेरिरहँदा आरोपित दिनेश भट्ट भने गोरु चराउन भन्दै गोठालो लाग्छन् । सबै सहपाठीहरु आन्दोलनमा होमिँदा दिनेश किन आएनन् भनेर कसैले हेक्का राख्दैन । तर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतले दिनेशको अनुपस्थितिलाई गहन ढङ्बाट अनुसन्धान गर्न थाल्छन् । कुकुरले सुँघेर पत्ता लगाउने भनेपछि कतै आँफैलाई सुँघ्न आइहाल्ने हो कि भन्ने त्रासले दिनेश घटनास्थल नआएर गोठालो गएको अनुसन्धान अधिकृतको दाबी छ । अनुसन्धान अधिकारीसमक्ष पनि दिनेशले कुकुर आएको थाहा पाएपछि आफूलाई संकेत गर्न सक्ने भन्दै घटनास्थल नआएको बयान दिएका छन् ।

प्रत्येक दिन केरकार
घटनापछि पहिलो चरणमा प्रहरीले सो क्षेत्रमा घर पर्ने, सोही विद्यालयमा पढ्ने, सोही बाटो भएर हिँड्ने धेरैलाई सोधपुछ गरेको थियो । तर दिनेशको टाइमललाइनमा गडबढ पाइएपछि अनुसन्धान अधिकृतले दिनेशलाई सुक्ष्म निगरानीमा राखेको थियो र प्रत्येक दिन कहिले प्रहरी चौकीमा ल्याएर त कहिले घरमै पुगेर सोधपुछ गरेको थियो । यतिसम्म कि प्रहरीले दिनेशलाई उसकै कुल देवताको मन्दिरमा लगेर अपराधमा संलग्न हो वा होइन भनेर कसम खान लगाएको थियो । त्यतिबेला पनि दिनेशले घटनामा आफ्नो संलग्नता छैन भन्दै आएको थियो ।

तर प्रहरीलाई दिनेशमाथिको शंका बलियो हुनुको कारण उनको गडबढ टाइमलाइन र बलियो शरीर नै थियो । त्योबाहेक केही आक्रामक स्वभाव र छिटो रिसाउने बानीका कारण घटनामा संलग्नताको आशंका झन्–झन् बढ्दै थियो ।
तर घटनामा संलग्नताको आशंकामा अर्का व्यक्ति पक्राउ गरिसकेको र केही घटनाक्रमले अपराधमा ती शंकितको संलग्नताको छनक पनि पाएकाले प्रहरी केही सफ्ट बनेको थियो । तर महेन्द्रनगरबाट पक्राउ परेका शंकितले घटनामा आफ्नो संलग्नता नरहेको र डिएनए लगायतका परीक्षण गराउन सजिलै राजी हुँदै पुष्टी गर्न चुनौति दिएपछि अनुसन्धान दिनेशमाथि नै केन्द्रीत हुन थाल्यो । यद्यपि ती व्यक्तिलाई कञ्चनपुरबाट बैतडी पुराइसकिएको थियो र अदालतबाट म्याद थप गरी अनुसन्धान गरिँदै थियो ।

फागुन ४ गते शनिवार
प्रहरीले शंकितमध्येका एक दिनेशमाथि प्रत्येक दिन निगरानी राख्दै प्रत्येक दिन सोधपुछ गरिरहेको थियो । सुरुमा कन्फिडेन्स देखाएका दिनेश पछि बिस्तारै गल्दै गएका थिए । त्यसबाहेक दिनेशले बोलेका केही झुटले प्रहरीलाई दिनेशमाथि शंका गर्न थप मद्दत पनि पुग्यो । उसले भागरथीभन्दा पहिले नै आफू गएको, भागरथी जाँदा को–को गएका थिए भन्ने सम्बन्धमा पनि झुट बोलेको, उसले बजारबाट निस्के भनेको समय र बाटोलाई उसलाई देख्ने मान्छेले भेटेको समय आदि नमिलेपछि प्रहरीले बीचको समयको खोजी गरिरहेको थियो । दिनेशको बजारबाट घर जाने बाटोको समयमा करिब २५ मिनटेको मिसम्याच भएपछि प्रहरीले माघ ४ गते मंगलबार पुनः दिनेशलाई प्रहरी कार्यालयमा बोलायो ।

दिनभर कार्यालयमा राखेर साँझ ७ बजेबाट अनुसन्धान टोलीले दिनेशमाथि थप केरकार गर्न थाल्यो । २ घण्टाको लगातार केरकारपछि बल्ल दिनेशले घटनामा आफ्नो संलग्नता स्वीकार गर्यो । आफू बाटो ढुकेर बसेको र भागरथी त्यहाँ पुगेपछि जबरजस्ती गरेको उसले स्वीकार गरेको छ । अनुसन्धान अधिकारीसमक्ष बयान दिँदा दिनेशले कुकुर आएको थाहा पाएपछि डर लागेकाले त्यहाँ नआएर गोठालो गएको बयान दिएको छ ।