बिराटनगर: प्रदेश नम्बर १ सरकार गठन भएको ३ वर्ष पूरा भएको छ । २०७४ फागुन ३ गते शेरधन राई नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । प्रदेश सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा राईले आफ्नो कार्यकालमा भएका कार्यप्रगतिको फेहरिस्त सार्वजनिक गरेका छन् ।
तीनवर्षे कार्यकाल मुलतः संविधान र संघीयता कार्यान्वयनको आधार तयार र संस्थागत गर्दै आवधिक योजनाको तर्जुमाका साथ स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माणमा लागिपरेको मुख्यमन्त्री राईले बताएका छन् । यो बीचमा सन्तुलित रुपमा महत्वपूर्ण विकास आयोजनाहरुको निर्माण कार्यका साथ जनतामा खुसी, उत्साह छर्न सरकार सफल भएको उनको दावी छ ।
संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण संरचना भनेको प्रादेशिक संरचना भएको भन्दै राईले प्रदेश संरचनालाई बलियो वनाउँदा मात्र संघीयता प्रभावकारी हुन सक्दछ भन्ने मर्म र बुझाईका साथ प्रादेशिक संरचनाहरुलाई व्यवस्थित गर्ने र संस्थागत गर्ने कुरामा निरन्तर र अबिचलित रुपमा सरकार केन्द्रित रहेको बताएका छन् ।
उनले जनताको असीमित चाहना, माग र आवश्यकताहरुलाई प्राथमिकीकरण गरेर प्राप्त र भएको सीमित साधन स्रोतहरुको प्रयोग गरी जनताका आकांक्षाहरुको सम्बोधन गर्दै अगाडि बढिएको पनि बताए । आगामी दिनहरुमा स्रोत र आम्दानी बृद्विका उपायहरु खोज्दै जनताको हितअनुकुल काम गर्दै जाने पनि उनले प्रतिबद्धता जनाएका छन् ।
राईले आफ्नो कार्यकालमा भएका २३२ बुँदे कार्यप्रगतिको फेहरिस्त नै प्रस्तुत गरेका छन् ।