दोहा ।’गैरआवासीय नेपाली तारा -२०२३’ मा ४१ प्रतिस्पर्धी दोस्रो चरणमा प्रवेस गरेका छन्। गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा सिजन ४’ को शुक्रबार भएको पहिलो अडिसनबाट गायनबाट २७ र नृत्य विधाबाट १४ गरी ४१ जना प्रतिस्पर्धी दोस्रो चरणमा प्रवेस गरेका हुन्।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजित कार्यक्रममा डिजिटल अडिसनबाट छनोट भएका ४९ जनाले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।
गायन विधाबाट दोस्रो चरण प्रवेश गर्नेहरूमा अनमोल श्रेष्ठ, उत्तम राई, अक्षय लिम्बु,अनमोल ढकाल, भीम कार्की, अशोक गुरुङ, विनीता राई, बुद्धसिंह लिम्बु, गौतम सामी लिम्बु, हरिचन्द्र नेपाली, ईशान रेग्मी, जोन विक, किरण विक, क्षितिज तामाङ, मान सिंह परियार, रश्मि विक, सरला तामाङ, सुजन गुरुङ, सुरज केसी, रुष्तम तामाङ, प्रविन प्रधान, बद्री देवकोटा, मालती लामा, दीपक घले र एन्जल कुलुङ रहेका छन् ।
त्यस्तै नृत्य विधाबाट झरना राई, सौजन चोहार, अमित राई, दिया सिंह, रितु श्रेष्ठ, जीवन राई, निरु श्रेष्ठ, सर्मिला घर्ती, सविना राई, जुनु माया कुमाल, सरोज लामा, सुनिता शेर्पा, रेखा मगर र ललिता लामा दोस्रो चरणमा प्रवेश रहेका हुन् ।

दोस्रो चरणमा प्रवेश गरेका कलाकारलाई आयोजकले प्रमाण पत्र समेत प्रदान गरेको छ ।
एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व तथा नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण क्षेत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले प्रवासमा रहेका हरेक व्यक्तिले आफ्नो गायन, नृत्य भित्र नेपालको, भाषा, संस्कृति, मौलिकता चिनाउने गरेको बताए। उनले मौलिकतामा नेपाली गीतसंगीत अग्र पङ्क्तिमा आउने बताए ।
कार्यक्रममा बारेमा प्रकाश पार्दै तमु समाजकी अध्यक्ष टौमाया गुरुङले तमु समाजले विगतमा एक्लै आयोजना गर्ने गरेको प्रतियोगिता पहिलोपटक एनसिसिसँग सहकार्य गरेको बताउँदै प्रतिस्पर्धाबाट नेपाली सँगीतिक आकाशमा नयाँ तारा थपिने विश्वास व्यक्त गरिन् ।
अतिथि जजका रूपमा रहेका एनआरएनए आइसीसीका उपमहासचिव प्रविन गुरुङले कतार कलाकारको उर्वर भूमि रहेको र यो भूमिबाट जन्मिएका कलाकार विश्वमा चम्कने विश्वास व्यक्त गरे ।
एनसीसी कतारका महासचिव रविन मगरले कार्यक्रमको पहिलो सत्रलाई सहजीकरण गर्दै सांस्कृतिक चरणलाई एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव रिजन गुरुङलाई माइकोफोन हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै सभापति भट्टले नेपालबाट लाखौं खर्च गरेर कलाकार कतार ल्याउनु भन्दा कतारमा श्रम गर्दै बचेको समयमा कलाकारिता गर्ने कलाकारलाई प्लेटफार्म प्रदान गर्नु एनसिसीको मुख्य उद्देश्य रहेको बताए।
प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका थिए ।
कार्यक्रममाको पर्यवेक्षकमा नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करीमबक्स मियाँ र एनसीसी कतारका पूर्व महासचिव तथा नेपाल पत्रकार महासंघ कतारका सल्लाहकार क्रान्ति सिंह रहेका थिए।
दोस्रो चरण २२ डिसेम्बर, तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।
