March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

कतार विश्वकपको पराजयसँगै आफ्नो खेल करिअरकै कठिन मोडमा रोनाल्डो

1.7K

काठमाडौँ । कतारमा जारी विश्वकपको विजेताको दावेदार मानिएको पोर्चुगल नकआउट चरणमा मोरक्कोसँग १ गोल खाँदै यसपटकको विश्वकप प्रतिस्पर्धाबाटै बाहिरियो । यससँगै उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो एक गोल पनि नगरी बाहिरिनुपरेको छ ।
यसपटकको विश्वकप पोर्चुगलका लागि जति महत्त्वपूर्ण थियो त्यसभन्दा धेरै महत्त्वपूर्ण रोनाल्डोका लागि थियो । रोनाल्डोका लागि आफ्नो अन्तिम विश्वकपमा मानिएको कतार विश्वकपमा पोर्चुगललाई जिताउनु रोनाल्डोको खेल करिअरमै एक ऐतिहासिक योगदान हुने थियो ।
तर जुन अवसर उनले चुकाइसकेका छन् । पोर्चुगलका लागि त आगामी विश्वकपमा आफूलाई तयार पार्न पर्याप्त समय छ । जुन अवसर र समय एक खेलाडीको रुपमा ३७ वर्षीय रोनाल्डोका लागि छैन । कतारमा शनिबार राति मोरक्कोबाट पराजित भएसँगै रोनाल्डोको विश्वकप विजेता बन्ने सपना सम्भवतस् टुंगिएको छ ।

मोरक्कोसँगको अन्तिम खेलको पहिलो हाफको अवधिभर पोर्चुगलका कोच फर्नान्डो सान्तोसले रोनाल्डोलाई बेन्चमै राखिदिएका थिए । दोस्रो हाफ सुरु भएसँगै रोनाल्डो मैदानमा उत्रिए । तर गोल गर्न सकेनन् । खेल सकिँदासम्म मोरक्कोले १ गोल हानिसकेको थियो भने पोर्चुगलले शून्यमै चित्त बुझाउनु पर्‍यो । खेलको ८२औं मिनेटमा रोनाल्डोले गोल निकाल्नै लागेका थिए । जुन मोरक्कोका किपरले रोकिदिए ।

खेल सकिएसँगै रोनाल्डो निकै निराश र स्तब्ध देखिए । टोलीका साथीहरूसँग अंकमाल नगरी उनी मैदानबाट बाहिर निस्किए। मैदानबाट एक्लै बाहिरिँदै गर्दा उनी रोइरहेका थिए । ड्रेसिङ रुममा पत्रकारहरू प्रवेश गरी उनलाई क्यामेरामा खिचिरहँदा रोनाल्डो एक्लै रोइरहेका देखिन्थे ।

Advertisement


तर हालसम्म रोनाल्डोले आफ्नो करिअरको भविष्यबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि कतार विश्वकप नै रोनाल्डोका लागि अन्तिम विश्वकप भएको अधिकांश खेल समीक्षकहरूको टिप्पणी छ ।

कतारको नमिठो पराजयले रोनाल्डोका आगामी क्लब खेलहरू पनि प्रभावित हुनसक्ने बताइन्छ । यसका बावजुद विश्व फुटबल इतिहासमा रोनाल्डो अहिलेसम्मकै महान खेलाडीमध्येका एक हुन् भन्नेमा अधिकांश सहमत छन्। उनका लागि सबैभन्दा ठूलो क्षण त के हो भने पाँचवटा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी हुन् रोनाल्डो । जुन कुरा नयाँ पुस्ताका लागि एक प्रेरणा पक्कै बन्न सक्छ ।

रोनाल्डोले १९६ वटा खेलमा ११८ अन्तर्राष्ट्रिय गोलसहित अन्तर्राष्ट्रिय खेलहरूमा सबैभन्दा धेरै गोलकर्ताको रूपमा विश्व रेकर्ड राखेका छन्। उनी पाँच पटकको बालोन डी’ओर विजेता साथै चारवटा युरोपेली गोल्डेन सुज विजेता पनि हुन् ।

गत अक्टोबरमा उनले म्यानचेस्टरका लागि आफ्नो क्लब करिअरको ७००औं गोल प्रहार गरेका थिए । जुन क्लब करिअरमा उनले पाएको ऐतिहासिक उपलब्धी हो । २००३ मा रियल म्याड्रिडबाट करिअर सुरु गरेका रोनाल्डोले झण्डै २ दशकको अवधिमा धेरै उतारचढाव पनि झेलिसकेका छन् ।

रोनाल्डो पोर्चुगलको नकआउट चरणको पहिलो खेलै बेन्चमा बस्नु परेको थियो । बदलामा कोच फर्नान्डो सान्तोसले गोन्जालो रामोसलाई मैदानमा उतारे । फलस्वरुप रामोस स्विजरल्याण्डसँगको खेलमा ह्याट्रिक नै गर्न सफल बने ।

सान्तोसले शनिबार पनि त्यही तरिकालाई निरन्तरता दिँदै मोरक्कोसँगको खेलमा पनि रोनाल्डोलाई बेन्चमै राखिदिए । तर पहिलो हाफमै पोर्चुगलले १ गोल खानुपर्‍यो । दोस्रो हाफमा भने रोनाल्डोलाई मैदानमा उतारियो । तैपनि रोनाल्डोले गोल गर्न सकेनन् ।

कोच सान्तोसको यस्तो रणनीतिलाई लिएर धेरैले उनको आलोचना पनि गरे । पोर्चुगलले हार्नुमा उनकै यस्तो असफल रणनीति जिम्मेबार रहेको भन्दै टिप्पणी हुन थाल्यो । सान्तोसले भने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको प्रतिक्रिया दिएका छन् ।

ुक्रिस्टियानो महान खेलाडी हुन् । हामीले आवश्यक ठानेपछि उनी भित्र आए । हामीलाई कुनै पश्चाताप छैन,ु रोनाल्डोलाई बेन्चमा राखिएकोबारे कोच सान्तोसले प्रतिक्रिया दिए ।

कतार विश्वकपको पराजयसँगै रोनाल्डो आफ्नो खेल करिअरकै कठिन मोडमा पुगेका छन् । अब उनको विश्वकप कमब्याक त सम्भव छैन नै यसले क्लब गेममा पनि थप अनिश्चितता थपिदिएको छ ।

२ दशकको खेल यात्रामा रोनाल्डोले उच्चतम उपलब्धीसहित प्रसंसा मात्रै पाएनन्, मैदान र बाहिर पनि धेरै विवाद र उतारचढावको पनि सामना गर्नुपर्‍यो । तर ती विवाद र उतारचढावलाई पनि बिर्साउने गरी एक ऐतिहासिक उपलब्धी हासिल गर्ने एक अवसर यसपटक उनका अगाडि थियो । जुन अवसर गुमाउन बाध्य भए । यससँगै रोनाल्डो आफ्नो करिअरकै कठिन मोडमा प्रवेश गर्दै छन् ।