धरान । सुनसरीको बराहक्षेत्रस्थित चक्रघट्टी जेसीजले एकदिने महिला सशक्तिकरण तथा नेतृत्व क्षमता अभिमुखिकरण गत मङ्गलबार सफलतापूर्वक सम्पन्न गरेको छ ।
बराहक्षेत्र–७ स्थित सप्तकोशी बहुमुखी कलेजको सभाहलमा राखिएको तालिम विद्यार्थी छात्राहरुलाई प्रदान गरिएको थियो।कार्यक्रममा महिलाहरूलाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, निर्णय क्षमता विस्तार तथा सामाजिक सहभागिता बढाउने विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । कार्यक्रमका प्रशिक्षकका रुपमा जीवन विज्ञानका प्रखर प्रशिक्षक तारा गिरी र पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी सुमित्रा भट्टराई रहनु भएको चक्रघट्टी जेसीव वर्ष २०२६ का महासचिव अर्जुन तामाङ (शिशिर)ले बताए ।
प्रशिक्षकहरुले महिला तथा विद्यार्थीहरूलाई आफ्नो अधिकारप्रति सचेत रहन, नेतृत्व लिन अग्रसर हुन र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय भूमिका खेल्न प्रेरित गरेका थिए। साथै, सहभागीहरूले विभिन्न समूहगत छलफल, अभ्यास र अनुभव आदानप्रदानमार्फत आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जेसी लक्ष्मी बरालले महिला सशक्तिकरण आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले महिलाहरूलाई सक्षम, आत्मनिर्भर र नेतृत्वदायी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताईन् ।
चक्रघट्टी जेसीसका अध्यक्ष शरण कुमार लिम्बूले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहभागी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे । कार्यक्रमले स्थानीय महिलाहरूमा नयाँ ऊर्जा र उत्साह थप्नुका साथै समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न थप प्रेरणा प्रदान गरेको सहभागीहरूको भनाइ रहेको छ ।
चक्रघट्टी जेसीजका कानुनी सल्लाहकार अस्वन यादवको संयोजनमा राखिएको कार्यक्रममा सप्तकोशी बहुमुखी कलेज प्रमुख शुसिल कोइराला, २०१६ पूर्व अध्यक्षजेसी कमल दाहाल, २०१९ अध्यक्ष मञ्जु आचार्य, २०२० अध्यक्ष सन्तोष चौलागाई ,बराहक्षेत्र जुनियर जेसीज वर्ष २०२६ का अध्यक्ष डिक बहादुर चौहान लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम चक्रघट्टी जेसीज वर्ष २०२६ का महासचिव अर्जुन तामाङ (शिशिर)ले सञ्चालन गरेका थिए ।