April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पहिरोबाट विस्थापित ५५ परिवारले पाए जग्गा

1.9K

संखुवासभा : पहिरोबाट विस्थापित सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ५५ परिवारलाई जग्गा हस्तान्तरण गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समिति, खाँदबारी नगरपालिका र सिलिचोङ गाउँपालिकाले विस्थापित ५५ परिवारलाई जग्गा बाँडफाँड गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए।

गत २०७७ साल असार २७ गते राति गएको पहिरोबाट विस्थापित ९२ परिवारमध्ये ५५ परिवारलाई खाँदबारी नपा–७ मा जग्गा बाँडफाँड गरी हस्तान्तरण गरिएको हो। विस्थापित ५५ परिवारले पुनःस्थापनाका लागि खाँदबारी रोजेका थिए। खाँदबारी नपाका उपप्रमुखको संयोजकत्वमा गठित जग्गा व्यवस्थापन समितिले निःशुल्क तथा सशुल्क जग्गा दिन चाहनेबाट विवरण संकलन गरी सबैभन्दा राम्रो मानिएको खाँदबारी–७ भैरे डाँडाको जग्गा छनोट गरेको थियो।

समितिले भैरे डाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा १ करोड ३० लाखमा खरिद गरेको हो। भूगर्भविद्हरू तथा प्राविधिकहरूको प्रतिवेदनपछि जिल्ला विपत् व्यवस्थापन समितिले जग्गा खरिद गरी पीडित परिवारलाई हस्तान्तरण गरेको छ। जग्गाको लालपुर्जा संयुक्त नाममा भए पनि घर निर्माणका लागि कित्ता काट गरी प्रत्येक परिवारलाई वितरण गरिएको हो।

Advertisement

पहिरो गएकै स्थानमा दुई वर्षसम्म जोखिम मोलेर बस्तै आएका पहिरो पीडितहरू जग्गा पाएपछि खुशी छन्। पहिरोले सिंगो गावै बगाएपछि बेसिन्दा र चेप्चेवाका बासिन्दा विस्थापित बनेका थिए। पहिरोमा परी ११ जना अझै बेपत्ता छन्।

 जग्गा बाँडफाँडसँगै पहिलो चरणमा अस्थायी टहरा बनाउन ५० हजार रुपैयाँ र घर बनाउन तीन किस्तामा ५ लाख रुपैयाँ दिने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी खतिवडाको बताए। २५ घरधुरीलाई सिलिचोङ गापाको चित्रे गाउँमा र चेप्चेवाका १२ घरलाई बखल्टुममा स्थानन्तरण गरिएको छ।

चित्रेमा ५१.५ रोपनी ७० लाख र बखल्टुममा १७.५ रोपनी ३४ लाखमा खरिद गरी पहिरो विस्थापितको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिले गत फागुन २९ गते जग्गा खरिद गर्ने निर्णय गरेपछि प्रक्रिया अघि बढेको थियो।

संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाले बजेट व्यवस्थापन गरी जग्गा खरिद गरिएको थियो। संघीय सरकारले ६०, प्रदेशले ३० र सिलिचोङ गापाले १० प्रतिशत लगानी गरेको छ।