ओमान – ओमानस्थित नेपाली दूतावासले ओमानमा कार्यरत नेपालीहरुलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।
कोरोना महामारी नियन्त्रणमा नआइसकेको अवस्थामा नयाँ प्रकारको भाइरसको संक्रमण तिब्ररुपमा फैलिरहेको अनुसन्धानले देखाएको हुनाले यसको संक्रमणको जोखिमबाट बच्न सबै नेपालीलाई साबधानी अपनाउन दूतावासले अनुरोध गरेको हो ।
ओमानमा कोरोनाभाइरसको अनुगमन÷मूल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीको २७ जनवरी २०२१ को निर्णयानुसार ओमानमा कोरोना भाइरसको संक्रमणबाट जोगिन थप सतर्कता अपनाउने सम्बन्धी केही निर्देशनहरू जारी गरेको पनि दूतावासद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
‘जसअन्तर्गत सामुहिकरूपमा भेला हुने तथा सामाजिक कार्यहरूमा जमघट हुने कार्यमा पूर्णरूपमा प्रतिबन्ध लगाईएको छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाली दूतावास ओमान यहाँ रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई पर्याप्त मात्रामा सामाजिक दूरी कायम गर्न एवम् यस भाइरसको संक्रमणबाट जोगिन रोकथामका सम्पूर्ण उपायहरू अवलम्बन गर्न अपिल गर्दछ ।’
यस सम्बन्धमा थप केही बुझ्न परेमा दूतावासको सम्पर्क नं 24696177/24696883 वा दूतावासको हटलाईन 71592490 मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।