टेक्सास । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा सन १९९८ मा स्थापित सबैभन्दा ठूलो संस्था नेपाली समाज टेक्ससले संस्था स्थापनाको २५ औं वार्षिक उत्सव शनिबार मनाएको छ । इतिहासमै पहिलोपटक विभिन्न ९६ संघसंस्थाहरूको सहभागितासहित विविध सांस्कृतिक झाँकीहरूकासाथ नेपाली परेडका रूपमा भव्य रजत जयन्ती समापन गरेको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेक्सास राज्यको युलेस सिटीकी मेयर लिण्डा मार्टिन प्रमुख अतिथि रहेकी थिईन् । नेपाली समाज टेक्ससले २५ वर्षको अवधिमा गरेका सम्पूर्ण गतिविधिहरूलाई समेटेर छापिएको “रजत जयन्ती स्मारिका” को पनि विमोचन गरिएको थियो । रजत जयन्तिमा सहभागिता जनाउने र नेपाली समुदायको लागि उल्लेखनीय योगदान पुर्याएका ब्यक्तिहरू र संघसंस्थाहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
उल्लेख्य नेपाली जनसमुदाय तथा करिब आठ दर्जन जति सामाजिक संघसंस्थाहरूको सहभागितामा सम्पन्न जयन्तिमा मगर संघ अमेरिका, किरात यक्थुङ चुम्लुङ, किरात राइ सोसाईटी, डिएफडब्लु गुरुङ (तमु) समाज, अमेरिका मधेशी समाज, तमाङ समाज अमेरिका, युनाईटेड किरात राई संघ, मधेशी अस्सोसियसन इन अमेरिका लगायतका जातिगत संघ संस्थाहरूको पनि सांस्कृतिक झाँकिसहित सहभागिता भएको थियो ।
नेपाली समुदायबाट शुरु भएको “नेपालीका लागि नेपाली” सामाजिक अभियान उत्कृष्ट रहेको बिचार व्यक्त गर्दै युलेश सिटी काउन्सिल नम्बर तीनका सदस्य टीका पौडेलले अहिले डिएफडब्लु. क्षेत्रमा नेपाली समुदायको जनघनत्व बढ्दै गईरहेकोले नेपाली समुदायका अगुवाहरूले आफ्नो क्षमता बढाउदै अमेरिकी मूलधारको राजनीतिमा प्रवेश गरेर सिटी काउन्सिलको नेतउत्व तहमा पुग्नु पर्ने कुरामा जोड दिएका थिए ।