April 18, 2025, Friday
२०८२ बैशाख ६
1:37:26 pm

जनसम्पर्क समिति बेलायतले सम्झायो प्रधानमन्त्री देउवालाई आफ्नो कार्य विवरण

२०७८ कार्तिक १४

5.3K

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले प्रधानमन्त्री शेरबहादुर देउबासंग औपचारिक भेट गरेको छ । नेपाली कांग्रेस पार्टीको बेलायतस्थित संगठनले हाल बेलायत भ्रमणमा आएका आफ्नो पार्टीका सर्वोच्च नेता देउबालाई औपचारिक भेट गरेको हो ।

गत शनिबार अक्टोबर ३० मा नेपाली राजदुतावास लण्डनमा गरेको भेट कार्यक्रममा एनपीसीसी यूकेले नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउबालाई बेलायत भ्रमणको सफलताको शुभकामना दिँदै आफ्नो स्थापना यता एनपीसी यूकेले आफ्नो कार्य विवरण पेश गरेको थियो । समितिका महामन्त्री प्रवेश केसी र सहमहामन्त्री इन्द्रहाङ लिङदेनले कार्यक्रम सञ्चालन गरेका थिए भने सभापति युवराज गुरुङले कार्यविवरण पढेर सुनाएका थिए ।

दुतावासमा आयोजित कार्यक्रममा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबाका साथ एनपीसीसी यूके सभापति युवराज गुरुङ

औपचारिक कार्यक्रममा नेपाली जनसम्पर्क समितिका पदाधिकारी कार्यकारी सदस्य, सल्लाहकार र केन्द्रीय सभा सदस्यहरु उपस्थित थिए ।

Advertisement

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबालाई पढेर सुनाइएको कार्य विवरण पत्र जस्ताको तस्तै यहाँ प्रस्तुत छः

“सम्माननीय प्रधानमन्त्री एबम समादरणीय पार्टी सभापति शेर बहादुर देउवा ज्यु,

सर्वप्रथम नेपाली जनसम्पर्क समिति, बेलायत तथा लोकतन्त्रमा आस्था राख्ने सम्पूर्ण बेलायतवासी नेपालीहरुको तर्फबाट बेलायतमा हार्दिक स्वागत गर्न चाहन्छौं। यहि नोभेम्बर १ र २ मा नेपालको लागि अति महत्व राख्ने यस संयुक्त अधिराज्यको ग्लास्गोमा हुन गइरहेको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने क्रममा बेलायती उच्चाधिकारी तथा बेलायतवासी नेपालीहरुलाई भेटघाट गर्ने उदेश्यले सम्माननीयज्युको लन्डन भ्रमणको क्रममा स्वागत गर्दै हाम्रा कुराहरु राख्न पाउनु लाइ हामीले एउटा सुअवसरको रुपमा लिएका छौ। 

आदरणीय सभापतिज्यू,
हामी नेपाली कांग्रेसमा आस्थावानहरुको प्रतिनिधित्व गर्ने संस्था नेपाली जनसम्पर्क समिति बेलायतमा आफ्नो पाचौं अधिवेशनको संघारमा छौ। एउटै आस्था र विश्वासमा आबद्द २००५ क्रियाशील सदस्यहरुको सदस्यता शुल्क बापतको रकम रु ५१,८८,५३०र (अक्षेरुपी एकाउन्न लाख अठासी हजार पाँच सय तिस) नेपाली कांग्रेस पार्टी, केन्द्रीय समितिको कोषमा दाखिला गरिसकेका छौ। यसरी बेलायतमा रहेका २००७ क्रियाशील सदस्यहरुको प्रतिनिधित्व गर्दै हामी पार्टीको चौधौं महाधिवेशनमा भाग लिन जान अति उत्साहित हुँदै पार्टीले यहाँको नेतृत्वमा थप उचाइ लिने विश्वासमा छौ। 

हामी लोकतन्त्रमा आस्थावान बेलायतवासी नेपालीहरुलाई समेट्ने कार्यमा क्रियाशील त छौ नै संगसंगै पार्टीको निर्देशनमा नेपालमा हुने गतिविधिमा पनि त्यत्तिकै सहभागी हुने गरेका छौ। 

सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टर्नेशनलको प्रतिष्ठित उपाध्यक्ष रहिसक्नु भएको यहाँ सम्मुखमा केहि समय अगाडि सोसलिष्ट इन्टर्नेशनलको लागि नेपाली कांग्रेस पार्टीको निर्देशनमा पार्टीको तर्फबाट बुझाउनुपर्ने शुल्क नेपाली जनसम्पर्क समितिले बुझाएपछि पार्टीको तर्फबाट कदर स्वरुप हामीले धन्यबाद प्राप्त गरेको कुरालाई यहाँ पुनर्स्मरण गर्न चाहन्छौ। 

यसैगरी ६ बर्ष अगाडि सन् २०१५ मा नेपालमा आएको विनासकारी महाभूकम्पमा तत्कालीन नेपालसरकारका प्रधानमन्त्री सुशील कोईरालाज्यूले नेपाली कांग्रेस पार्टीको तर्फ़बाट पार्टी सभापति शेर बहादुर देउवाज्युको नेतृत्वमा एक अनुगमन समिति बनाउनु भएको थियो ।त्यो समयमा हामीले यूकेमा संकलन भएको १५ लाख सहयोग रकम म आफै समेत संलग्न भई शेर बहादुर देउबाज्यूको अनुगमन समितिसंग आबद्ध भई पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाज्युको प्रत्यक्ष उपस्थितिमा भूकम्पबाट प्रभावित तीन ज़िल्ला नुवकोट, धादिंग र चितवनमा त्रिपाल तथा खाध्यान्न बितरण कार्यक्रम सम्पन्न गरिएको क्षणलाई स्मरण गर्न चाह्यौ। 

बिगत २ बर्षदेखि संसार नै आक्रान्त पारेको कोरोनाबाट बेलायतमा रहेका नेपाली बिद्यार्थीहरु पनि काम र माम बिहिन हुन् पुगेको अबस्थामा त्यस्ता पीडित बिद्यार्थीहरुको खोजी गरी यस समितिको तर्फबाट सन् २०२० मा हडर्सफिल्ड विश्वविद्यालयका ५० विद्यार्थीलाई राहतस्वरुप खाद्यान्न वितरण तथा सन् २०२० मे १८ मा दोस्रो चरण राहत वितरण कार्यक्रमका लागि कार्डिफ युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीलाई खाद्य सामग्री सहायता गरिएको थियो। 

त्यसैगरी हाम्रो देशमा पनि सहयोग पुर्याउने क्रममा सन् २०२० जुन १० मा नेपाली जनसम्पर्क समिति बेलायतद्वारा चितवनको इच्छाकामना गाऊँ पालिकाको चेपाङ बस्तीमा राहत बितरण गरिएको थियो। 

त्यसैगरी देशमा कोरोनाको प्रकोपबाट बिकराल रुप लिइरहेको अबस्थामा कोरोना पीडित देशवासीहरुलाई सो महामारीमा सहयोग पुर्याउने हेतुले नेपाली कांग्रेस पार्टीले स्थापना गरेको कोभिड कोषमा नेपाली जनसम्पर्क समिति बेलायतले संकलन गरेको ६ लाख रुपैया पार्टीको कोषमा दाखिला गर्न आफै गएको कुरा अनुरोध गर्दछु। 

बेलायतको राजनीतिक गतिविधिमा मात्र नभएर देशमा हुने प्रत्येक राजनीतिक गतिविधिलाई नजिकबाट नियाल्दै आफ्नो तर्फवाट सक्रिय प्रतिक्रिया जनाउदै रहेको कुरा जानकारीको लागि अनुरोध गर्दै पूर्ववर्ती सरकारको अलोकतान्त्रिक गतिविधिको बिरुद्धमा सन् २०२० जुन १६ मा तत्कालिन प्रधानमन्त्री के पी ओलीलाई ११ बुँदे ज्ञापन–पत्र बुझाएको कुरालाई याद गर्न चाहन्छौ। 

यसैगरी राष्ट्रियताको मामिलामा बेलाबखत उठ्ने गरेको आवाजमा नेपालका बिभिन्न राजनीतिक पार्टीका भातृसंस्थाहरुसंग सहकार्य गर्ने सिलसिलामा नेपालको सिमा लिम्पियाधुरा र लिपुलेकमा उठेका विवादको बारेमा सन् २०२० मे २२ मा छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ध्यानाकर्षण गराउँदै तत्कालिन नेकपा, जनता समाजवादी र राप्रपाको बेलायतस्थित संगठनहरुसंगै मिलेर नेपाली जनसम्पर्क समिति बेलायतले संयुक्त बिरोधपत्र पठाएको कुरा उल्लेख गर्न चाहन्छौ। 

नेपालबाट बेलायत भ्रमणमा आउनुहुने नेपाली कांग्रेसका कुनैपनि नेता तथा कार्यकर्ताहरुको भ्रमणको सहजीकरण गर्दै बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने कुरा समितिको नियमित कार्यतालिकामा परेकै छ। साथै पार्टीको नीति र बार्षिक क्यालेन्डर अनुसार बिभिन्न कार्यक्रमहरुलाई नियमित रुपमा आयोजना गर्दै लोकतन्त्रवादी कार्यकर्ताहरुलाई समेट्ने एबम क्रियाशील गर्ने गरिएको कुरा पनि जानकारीको लागि अनुरोध गर्न चाहन्छौ। 

सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाज्यु,
बेलायतमा रहने आवासीय नेपालीहरुमा अधिकांश गोर्खा पृष्ठभूमिका रहेको सन्दर्भमा यहाँको यस भ्रमणको क्रममा आजभन्दा ठिक २५ र २० बर्ष अगाडि १० (१३  नोवेम्बर १९९६ र १२–१४  मे २००२ मा गरी २ पटक भएको बेलायतको अफिसियल भ्रमणको स्मरण गर्दै सो अवसरमा तत्कालीन बेलायती समकक्षीसंग नेपालको प्रधानमन्त्रीको हैसियतमा ब्रिटिश गोर्खाको हक हितमा समान पेन्सन र हकाधिरको लागि स्पष्ट रुपमा उठाउनु भएको कुरामा बेलायत तथा नेपालमा रहनु भएका पूर्व गोर्खाहरुले ससम्मान स्मरण गर्ने गर्नुहुन्छ। यहाँले त्यसबखत उठाइदिनु भएको आवाजले गर्दा नै गोर्खा र उहाँका परिवारले आवासीय अधिकार तथा पेन्सनको हकमा केहि अधिकार पाउने अर्थात सानै रुपमा भएपनि सुनुवाई हुदै गएको देखिन्छ। तरपनि ब्रिटिश सेनामा संगै सेवा गरेका बेलायती नागरिकले पाए सरहको सेवा र सुविधामा अझैपनि भेदभाव कायमै रहेको सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू यस भ्रमणको क्रममा हुने बेलायती समकक्षी तथा सम्बन्धित अन्य विशिष्ट अधिकारीहरुसंगको भेटमा थप चासो राखिदिनु हुने अपेक्षा राखेका छौ। 

सम्माननीय प्रधानमन्त्रीज्यू,

हामी बेलायतमा रहेका आवासीय नेपालीहरुले निश्चित शर्त र समय पुरा गरेपछि बेलायती नागरिकता लिन योग्य र अधिकार प्राप्त गर्दछन। सो अधिकारलाइ सदुपयोग गर्दै कतिपय नेपालीहरुले बेलायती नागरिकता लिएका छन् भने कतिले बेलायती नागरिकता लिएपछि आफ्नो जन्मभूमिको जन्मसिद्ध अधिकारबाट प्राप्त नेपाली नागरिकता स्वतस् गुमाउनु पर्ने नेपालको संबैधानिक प्रावधानले गर्दा कतिले सो अवसरलाई स्वीकार्न सकिरहेको छैन। परदेशमा पाएको अधिकार र स्वदेशसंगको नाता बिचमा आएको यहि प्रश्नवाचक चिन्हले हामी परदेशमा बस्ने नेपालीहरु सकसमा छौ। जन्मभूमि भनेको आमा हो, देश (परदेस जहाँ रहेपनि आमासँगको नाता कहिल्यै टाढा हुदैन, त्यसैले भावनात्मक रुपमा रहेको यस नातालाई टाढा बनाउने किसिमको व्यवस्थामा संसोधन गर्दै कानुनि रुपमा पनि हामी नेपाली नै रहने हामी एन आर एनहरुको आशा र अपेक्षा प्रति सम्माननीय प्रधानमन्त्रीज्यू सदैव सकारात्मक रहनु भएकोमा आभार प्रकट गर्दै यहाँको नेतृत्वमा एनआरएनको बमोजिम नेपाली नागरिकता निरन्तरताको माग पुरा हुने अपेक्षा नेपाली जनसम्पर्क समिति बेलायतले राखेको छ। 
नेपाली कांग्रेसको समादरणीय सभापतिज्यूलार्इ हाम्रो कर्मथलो बेलायतमा पार्टीको कार्यकर्ताको हैसियतले सशरीर स्वागत गर्न पाउनु हाम्रो सौभाग्य त हुदै हो, साथसाथै नेपालीको हैसियतमा आफ्नो देशको सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष बेलायतवासी नेपालीहरुको बारेमा यथार्थ कुरा राख्न पाउनु अर्को सुअवसर पनि हो। 
बिशेषतः हाम्रो देश नेपालको लागि अति महत्व राख्ने यसै संयुक्त अधिराज्यको ग्लास्गोमा यही कात्तिक १५ र १६ गते अर्थात नोभेम्बर १ र २ तारिखमा हुन् गइरहेको २६औं राष्ट्रसंघीय जलवायु सम्मेलन अर्थात संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वरुल्ड लीडर समिटमा यहाँको नेतृत्वदायी भूमिकाको सफलताको लागि नेपाली जनसम्पर्क समिति बेलायतको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौ।”

30.10.2021