सोल- दक्षिणकोरियामा अध्ययनरत नेपाली विद्यार्थीको संस्था नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक)ले दुईदिने शैक्षिक सेमिनार गर्ने भएको छ। मार्च १३ र १४ मा आयोजना हुने सेमिनारमा ६ सत्र निर्धारण गरिएको संस्थाका अध्यक्ष राजाराम श्रेष्ठले जानकारी दिए।
कोरोना महामारीका कारण भर्चुअल माध्यमबाटै सेमिनार आयोजना गरिएको छ। विदेशमा सिकेको ज्ञान, सिप र अनुभव आदानप्रदान गर्न सेमिनार फलदायी हुने विश्वास आयोजकको छ।
सेमिनारमा नेपाल, कोरियालगायत विश्वका विभिन्न देशमा पुगेका विषय विज्ञ नेपालीहरूको अनुभव र ज्ञानलाई नेपालको समृद्धिमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रेष्ठले बताए।
कोरियास्थित विभिन्न विश्वविद्यालयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता, विज्ञ, अनुभवी तथा दक्ष व्यक्तिहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम थप प्रभावकारी हुने आयोजकको भनाइ छ।