विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल जाने भएको छ ।
असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको सफल आरोहण गरेको टोली यहि वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि नेपाल जाने बहराइनमा रहेको नेपाली दूतावासले विज्ञप्ति मार्फत जनाएको छ ।
१३ जना बहराइनी र तीन जना बेलायती गरी १६ जनाको आरोहण टोली आउँदाे चैत २ गते नेपाल जाने दूतावासले जनाएको छ । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने भएको छ ।
गएको वर्ष कोरोना महामारीका कारण सरकारले वसन्तकालीन आरोहण स्थगन गरेको थियो । तर यस वर्ष आरोहण खुला गरेसँगै आठ जना आइसफल डाक्टरहरू बाटो बनाउनका लागि सगरमाथाको आधार शिविरतर्फ गइसकेको पर्यटन विभागले जनाएको छ ।
विभागले सगरमाथा आधार शिविरमाथिको खुम्बु आइसफल हुँदै पहिलो शिविरसम्मको बाटो बनाउने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई दिएको छ ।