January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

“नेताप्रतिको हाम्रो अपेक्षा आदर्श हो, राजनीति यथार्थ हो”-खुशी लिम्बू

खुशी लिम्बू
२०८० फाल्गुन २३

8.4K

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक कदम चाल्नुभन्दा केही दिनअघि एकजना मित्रको निमन्त्रणामा उनको घरमा खाना खान गएको थिएँ । कुराकानीको सिलसिलामा उनले देशमा विद्यमान राजनीतिक खिचातानी र कुशासनबारे रोष प्रकट गर्दै सम्पूर्ण दोषहरु संविधान र नेताहरुमााथि थोपरे । यसबारेमा उनको भन्दा मेरो बुझाई अलि फरक रह्यो । मित्रले देउवा, ओली र प्रचण्डप्रति असन्तुष्टी पोखे । मैले व्यक्तिभन्दा व्यवस्थामाथि दोष देखें । अर्थात, मित्रले विष्णुमतीको पानी काठमाण्डौंमा मात्रै मैला देखे । मैले बिष्णुमतीको पानी शिवपूरीमाथिको मुहान पोखरीमै फोहर देखें । तर, मेरो कमजोरी, मित्रलाई मैले “नेताप्रतिको हाम्रो अपेक्षा आदर्श हो, राजनीति यथार्थ हो” भन्ने मेरो विचार स्पष्ट बुझाउन सकिनँ । त्यही विचारलाई बिस्तारमा राख्ने क्रममा यो छोटो ब्लग यहाँ राख्दैछु ।

म यहाँ फेरि पनि मित्रलाई भन्छु – नेताहरूप्रतिको हाम्रो सामाजिक अपेक्षा आदर्शमा आधारित (Ideal) हुन्छ, तर सत्ताको राजनीति भनेको व्यवहारिक (Real) हुन्छ्र । Politics is not about what we think ‘what it should be’; it is about ‘what it is’ in reality. राजनीति हामी जे कल्पना गर्छौं त्यो होइन; जे हुन्छ त्यो हो ।

हामी कामदार वर्ग दुई छाक खान्छौं, काममा जान्छौं, आउँछौं, सुत्छौँ र कल्पना (fantasy) का सजिलो कुरा गर्छौं र नेतालाई दोष दिन्छौँ, राजनीतिज्ञहरु पनि लौकिक मानव नै हुन्, कुनै अलौकिक देव होइनन् । पशुपतिनाथको भट्ट र स्वयम्भुनाथको लामाबाट त नैतिकताको ग्यारेण्टी हुन्न भने प्रचण्डबाट नैतिकताको आशा हामीले किन बढी गर्ने? राजनीतिमा नैतिकता खोज्नु र नेताहरूबाट कुनै देवताको व्यवहारको अपेक्षा राख्नु ब्यर्थ छ । नैतिकता प्रदर्शन गर्न कोही पनि सत्तामा गएको हुँदैन । किनभने मान्छे भनेको नाफा र घाटालाई हिसाव गरेर चल्ने स्वार्थी प्राणी हो । अथवा उपयोगितावादी दार्शनिक जिरेमी बेन्थम (1748–1832) को शब्दमा भनौं –”human is a hedonistic being, who always seeks to maximize his pleasure and minimise his pain”

Advertisement

अतः राजनीति र राजनीतिज्ञहरुले जहिल्यै पनि आफ्नो स्वार्थ र अस्तित्वलाई केन्द्रमा राखेर चल्ने गर्छन्। यो सामान्य हो । नेता भनेको त परिस्थितिको उपज (कथाले मागेको) पात्र मात्र हो । कथा वर्तमान विश्व राजनैतिक व्यवस्था (दलाल पूँजीवाद?) नै हो । संसद नाटकघर हो । कथा लेख्नेहरू केही साम्राज्यवादी–नवउपनिवेशवादी देशहरु हुन् जसको आइडियोलोजी (विचार) ले संसारको संस्कृति, अर्थ र राजनीतिलाई नियन्त्रण गरेको छ । नेताहरू खेलौना, नत्र बढीमा पात्र मात्र हुन् । नेता व्यक्ति हो, र उसको सोच, छनौट, निर्णय र व्यवहार पनि सामाजिक संरचना (Social structure) मा आधारित हुन्छ । यस अर्थमा यहाँ बुद्दीवाद (Rationalism) भन्दा संरचनावाद (Structuralism) प्रभुत्व जमाउँछ । त्यसैले एक नेता (मान्छे) कति बुद्दिमान भन्ने कुरो ऊ आफैंले मात्रै होइन, उसको सामाजिक परिवेशले निर्धारण गरेको हुन्छ ।

यसलाई हामी सबैले बुझ्ने भाषामा भन्नु पर्दा, (१) नेताले के गर्छन्? (रोजाई र क्षमता) ठूलो कुरो होइन। (२) बरु नेताले किन त्यसो गर्छन्? (सामाजिक, आर्थिक, राजनीतिक परिवेश) ठूलो कुरो हो । १ नम्बर व्यक्तिको नियन्त्रणभित्र छ। २ नम्बर व्यक्तिको नियन्त्रणभन्दा बाहिर छ । अतः यस अर्थमा हामीले नेतालाई दोष दिने होइन, परिवेश (व्यवस्था) लाई दोष दिने हो ।

यदि नेपालको जारी अस्थिर राजनीतिलाई एउटा निकासा दिने हो भने, प्रत्यक्ष निर्वाचनबाट आउने प्रत्यक्ष निर्वाचित कार्यकारी नै समाधानको दोश्रो अन्तिम विकल्प हुनसक्छ। संसदीय व्यवस्थाभित्रै यो खोज्न सकिन्छ । नत्र भने नेपाली जनताले संसदीय ब्यवस्थामाथि अब अन्तिम पुनर्विचार गर्न आवश्यक छ ।त्यो अन्तिम विकल्प भनेको क्रान्ति र वर्गविहीन समाजको स्थापना नै हो ।