पाँचथर । कुम्मायक गाउँपालिकामा गाईभैंसीमा देखिने ‘लम्पी स्किन’ रोग नियन्त्रण बाहिर गएको छ । नेपालभर महामारीको रुपमा फैलिएको यस संक्रमण कुम्मायक गाउँपालिकामा पनि नियन्त्रण बाहिर पुगेको हो ।
‘लम्पी स्किन’ संक्रमण भएपछि गाइगोरू र भैसीको छालामा गिर्खा अर्थात ठेउलाठेउली आउने, खुट्टा सुन्निने, उच्च ज्वरो आउने जस्ता लक्षण देखापर्ने पशुपन्छी सेवा शाखा प्रमुख डा नगेन्द्र दाहाल बताउछन् । गाइगोरू ओसारपसार तथा बेचबिखनका कारण देशभर यस रोगको संक्रमण फैलिएको दाहालको भनाइ छ । बिशेश गरेर स्थानीय ब्यापारीहरुले एक ठाउँबाट गाइगोरू किनेर अर्को ठाउँमा बेच्ने चलनले गर्दा किसानले यस्तो महामारीको सामना बेहोर्नु परेको उनी बताउछन् ।
गत चैत महिनामा कुम्मायक गाउँपालिकाको वडा नम्बर ३ को हात्ती पोखरी गाउँमा पहिलोपटक यो रोग देखा परेको दाहालले बताए । त्यस भेगका १५ देखि २० वटा गाई गोरू र भैंसीलाई उपचार गरिसकेपछि बैशाख महिनामा १ नम्बर वडा र २ का गर्मी हुने तल्लो भेगमा यो रोग बढी आक्रामक रुपले फैलिएको पनि उनी बताउछन् ।
यस गाउँपालिकामा हालसम्म ४५ वटा गाइगोरू लम्पी स्किन रोगले मरिसकेको र ६ हजार ५ सयभन्दा बढी गाईगोरू बिरामी अवस्थामा रहेको जनाइएको छ । उपचार गरी निको भइसकेका ३ हजार ५ सयभन्दा बढी गाईगोरू पुनः संक्रमित अवस्थामा रहेको पशुपन्छी सेवा शाखा कार्यलयको तथ्यांकमा उल्लेख गरिएको छ ।
कुम्मायक गाउँपालिकामा रहेको बिपद व्यवस्थापन कोषबाट रु १० लाख रुपैयाँ रकम बिनियोजन गरी गाउँपालिकाका सबै वडाका बिरामी गाइगोरू र भैंसीलाई औषधि खरिद गरी निःशुल्क उपचार गरिरहेको डा दाहालले बताएका छन् । कृषकले बाली लगाउने बेलामा यो रोग फैलिएसँगै दूध तथा अन्न उत्पादनमा गिरावट आउने भएपछि किसानहरु चिन्तित भएका छन् ।
वडा नम्बर ५ का वडा अध्यक्ष निर्मलराज घिमिरेले वडाको आहाले लगायत विभिन्न भेगमा लम्पी स्किन महामारी रोग घट्दो नभई बढ्दो मात्रामा रहेको बताएका छन् । त्यस्तै वडा नम्बर २ का वडा अध्यक्ष बालकृष्ण शेर्माको घरको बाछासमेत मरेको बाताए । वडा नम्बर ५ निगालेका नरेन्द्र बहादुर सम्बाहाम्फेको धान रोप्ने समयमा उक्त रोगले उनका हलगोरू थलापरेपछि खेत बाझिनुका साथै बीउ खेर गएको बताए ।
यो रोग नियन्त्रणमा नआएसम्म नियमित निःशुल्क औषधि उपचारमा पशु चिकित्सक खटाइने गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावती र उपाध्यक्ष महेन्द्रबहादुर खड्काले बताएका छन् ।
