काठमाडौ । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले विश्वका कयौं सुन्दर देशहरुभन्दा पनि सुन्दर देश नेपाल भएकोले यहाँका हिमाल पहाड र तराईका पर्यटकीय सम्भावनाका क्षेत्रहरुको प्रचारप्रसारमा मिडियाको महत्वपूर्ण भूमिका रहनु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय अनलाइन पत्रकार संघको दशौं बार्षिकोत्सवका अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रमको उद्घाटन मन्तव्यका क्रममा मन्त्री ठकुरीले आफ्नो वैदेशिक भ्रमणको स्मरण गर्दै प्राकृतिक रुपमा नेपाल जस्तो सुन्दर देश विश्वमा कही नभेटेको अनुभव सुनाए ।
“हामी स्वीट्जरल्याण्ड सुन्दर देश भन्ने गर्थ्यौं तर, नेपाल जस्तो भूबनोट र प्राकृतिक सुन्दरता भएको देश कही कतै रहेनछ”, मन्त्री ठकुरीले भने । उनले नेपालको कृषिमा भएको सम्भावना, वन र जडिबुटी, जलश्रोत, पर्या पर्यटनलाई व्यवस्थित गर्न सकेमा देशको समृद्धि टाडा नभएको दाबी गरे । पर्यटन प्रवर्द्धनका लागि पत्रकारहरुको अत्यन्तै महत्वपूर्ण भूमिका रहने भएकोले समेत मिडियाले पर्यटन पत्रकारितालाई जोड दिनुपर्ने उनको धारणा थियो ।
पर्यटन क्षेत्रमा अनलाइन मिडियाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम तथा नोजा पत्रकारिता अवार्ड कार्यक्रममा आफ्नो विचार राख्दै जया मल्टिपल क्याम्पसका प्रमुख एवं डोरीतान संघका केन्द्रीय अध्यक्ष भवानीप्रसाद पौडेलले नेपाली युवाहरुलाई देशमा भएको पर्यटन प्रवद्र्धनको सम्भावना देखाएर वैदेशिक रोजगारमा जान निरुत्साहित गर्नुपर्ने बताए ।
एउटा विद्यार्थीले आफ्नो अध्ययन पुरा गर्ने क्रममा कलेजको झ्यालबाट देशको प्राकृतिक सुन्दरतालाई नियाली रहँदा म आफ्नै देशमा भविश्य खोज्छु र प्रकृतिमा रमाउँछु भन्ने मनोभावनाको विकास हुन सकोस क्याम्पस प्रमुख पौडेलको धारणा थियो ।
“म आफैंले पढाएको विद्यार्थीलाई आज माननीय मन्त्रीको रुपमा स्वागत गर्न पाउँदा गर्व महशुस भएको छ”, मन्त्री ठकुरीप्रति लक्षित गर्दै पौडेलले भने ।
शिक्षा, मेडिकल र आईटीको हबका रुपमा नेपाललाई विकास गर्न सकिने प्रसस्तै सम्भावना भएकोले सबै मिलेर त्यसतर्फ लाग्नु पर्नेमा पौडेलको जोड थियो । “नेपालमा केही हुन्न भन्ने भाष्य निर्माण गरिएको छ जसले गर्दा युवाहरू देशमा बस्नै चाहँदैनन्”, उनले भने ।
“राज्यले जतिसक्दो चाँडो युवा र विद्यार्थी लक्षित कार्यक्रम ल्याएर युवा जनशक्ति विदेशिने क्रमलाई तत्काल रोक्नु पर्छ । यसो हुन नसकेमा मुलुकले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था चाँडै आउनसक्छ”, उनको धारणा थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका पूर्व वडाध्यक्ष एवं समाजसेवी श्रीकुमार श्रेष्ठले प्राकृतिक र साँस्कृतिक रुपमा सुन्दर गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र साँस्कृतिक उद्यान, साँस्कृतिक घाटहरुको निर्माण र प्रेम पार्क जस्ता ठाउँहरुको विस्तार गर्दै जानु पर्ने कुरामा जोड दिए ।
गोकर्णेश्वर नगरपालिका भित्र सुन्दरीजल ड्याम साइड, शहिद पार्क, गोकर्णेश्वर मन्दिर देवस्थल लगायतका भ्रमण योग्य क्षेत्रहरु समेत भएकोले पत्रकारहरुले यसको प्रचार प्रसारमा जोड दिएर कलम चलाउनु पर्नेमा सहभागिहरुले आआफ्नो विचार व्यक्त गरेका थिए ।
नोजाका संस्थापक अध्यक्ष मुकुन्द कुमार ढुंगानाको अध्यक्षतामा आयोजित समारोहमा यस बर्षको नोजा अवार्ड हालः अमेरिकामा रहेर पत्रकारिता गर्दै आएकी पत्रकार झरना अधिकारीलाई प्रदान गरिएको थियो । कदरपत्र सहित अवार्डको राशी एघार हजार एक सय एघार रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल रही विशेष योगदान पुर्याउने प्रतिष्ठित ब्यक्तिहरुलाई प्रमुख अतिथि मन्त्री ठकुरीले सम्मान पत्रद्धारा अभिनन्दन गरेका थिए । आजभन्दा दश बर्ष अघि स्थापना भएको उक्त संस्थाले जया मल्टिपल क्याम्पस जोरपाटीमा कार्यक्रमको आयोजना गरि आफ्नो बार्षिक उत्सव मनाएको आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा गागलफेदी शहिदपार्कका अध्यक्ष सुदर्शन सिग्देल, उमाकुण्ड गाउँपालिका रामेछापकी उपाध्यक्ष सावित्री सुनुवार लगायतका ब्यक्तीहरुले आफ्नो विचार व्यक्त गरेका थिए ।