इलाम । इलामको चुलाचुलीमा रहेको ’चुलाचुली ‘रंगमञ्च’ले नाटक ‘झोडा’ मञ्चनको तयारी गरिरहेको छ । कलामा साँस्कृतिक चेत तथा रैथाने मौलिक पक्षहरुमा काम गर्दै आईरहेको चुलाचुली रंगमञ्चले यसपटक भूमि र त्यसको सामीत्वको ईतिकथा, त्यसमाथिको राजनैतिक दाउपेजलाई नाटकमार्फत प्रश्तुत गर्ने भएको हो ।
‘भन्नुपर्छ भन्ने लागेरै हामीले भूमिको यस विषयलाई टिपेका हौँ । नाटकको अनेक भाषामध्ये सामाजिक साँस्कृतिक रुपान्तरण पनि एक होला ! यो नाटकको प्रखरता त्यसउपर रहने छ’, नाटकका निर्देशक चेतन आङ्थुक्पोले बताए ।
भौगोलिक अवस्थितिमा चुलाचुली रंगमञ्च इलाममा भएपनि उक्त नाटक ‘झोडा’ दमकस्थित रेडक्रस भवन नजिकै रहेको किराँत भवनमा मञ्चन हुने उक्त नाटकका व्यवस्थापक सुर्य लिम्बुले जानकारी दिए ।
नाटकका निर्माता कलाप्रेमी तथा व्यावसायी सुरेश साम्पाङले सर्जक गणेश रसिकको अथक योगदानको कदर तथा सम्मानार्थ स्वरुप यस नाटक तयार पारिएको बताए । उनले भने, ‘युवाहरुमा इतिहासप्रतिको चेत र दरिलो साहस भएकै कारण मैले उनीहरुको साहसमा हात जोडेको हुँ । सर्जक गणेश रसिकको अथक योगदानको कदर तथा सम्मानार्थको कार्य पनि हो । त्यसमाथी नाटकमा पर्दापण रहने मुद्दा र साझा विचार चेतको संयोजन मुख्य रहैको छ ।’
मञ्चन हुन लागेको उक्त नाटक ‘झोडा’ लेखक गणेश रसिको उपन्यास ‘आकाशगंगाको ओतमुनी’ को नाट्य रुपान्तरण हो । यसको नाट्य रुपान्तरण भने लेखक सुमन लिङ्देनले गरेका हुन् । लिङ्देन भन्छन्, ‘वि.सं. २००० को आसपास नै पहाडीया समुदाय मधेश झर्न थालेको भएता पनि झोडा बस्ती र झोडाको व्यापक फडानी भने वि.सं. को २०२१ पछि भएको देखिन्छ । लिम्बूहरूको राजनैतिक अधिकार र राजनैतिक सामित्वसँग गाँसिएको किपट उन्मूलनको आक्रोश मेटाउन पनि दरवारको प्रपञ्च देखिन्छ झोडा व्यवस्थापन । किपट प्रथाको खारेजीसँगै थमाउनीमा झोडा व्यवस्थापनको नीति राज्यले अंगालेको देखिन्छ । यद्यपि आजपर्यन्त भूमिको समस्या यथावत छ । लिम्बू समुदाय र ति समुदायको अर्थराजनीति संग गाँसिएको भूमि व्यवस्थापनको कथा गम्भीर छ। त्यसकै दाउपेज र वस्ती ब्यवस्थापन गर्न पहाडबाट मधेश झरेको यात्रा, यात्राको दुखलाई हामीले बल्न खोजेका हौँ ।’
कुनैपनि सहरमा नाटकघर बन्नु, नियमित नाटक मञ्चन हुनुले उक्त सहरको सौन्दर्य झल्काउँछ । ज्ञानको उच्चतम प्रयोग भन्दा अन्युक्ती होला । नाट्यक्षेत्रमा संघर्षरत रमिता राई, मनकुमार योङहाङ, मनिक शंकर, दिपक खरेल, मिना लिम्बू योङहाङ, उदय लिम्बू, प्रबिन मगर लगायत नया अनुहारपनि नाटकमा देखिनेछ ।
‘यसको पृष्ठभूमि अलिक भिन्न र जटिल भएको कारण संगीत संयोजनमा विशेष ध्यान दिएका छौँ । नाटकमा संगीत संयोजन धेरै जटिल काम रहेछ’, रिहल्सलमा ब्यस्त संगीत क्षेत्रका बालकृष्ण राईले बताए ।
रिहल्सलमा रहेको उक्त नाटक ’झोडा’ असोज २६ गतेदेखि मञ्चन हुनेछ ।
दमककै कदम थिएटरको ‘पाङवाईला हिम्’मा भने अहिले ‘जयमाया आफू मात्र लिखापानी आईपुगी’ नाटक मञ्चन भईरहेको छ । राजधानीको व्यवस्थित नाटकघरहरुमा त नियमित रुपमा नाटक मञ्चन हुने नै भए, राजधानी बाहिर पनि नाटकको माहोल गज्जपले तातिएको छ ।
पूर्वका धेरै स्थानहरूमा नाटकको तयारी चल्दैछ । कदम थिएटरले अहिले दिवंगत लेखक ईन्द्र बहादुर राईद्वारा लिखित कथामा आधारित ‘जयमाया आफू मात्र लिखापानी आईपुगी’को मञ्चन गत १२ गतेबाट सुरु गरेको हो ।
उक्त नाटकको निर्देशन काठमाडौंंमा धेरै संघर्ष गरेर मोफसलमा नाट्य क्षेत्रमै केही गर्ने ध्येयका साथ पूर्व फर्केका जीवन बरालले गरेका हुन् ।
‘नाटकको प्रतिक्रिया सोचेभन्दा राम्रो भईरहेको छ । यसले हामीलाई थप उर्जा दिएको छ। कला त गाउँघरका कुनाकन्दरामा लुकेका छन्। हामी ति कलालाई उजगार गर्न चहान्छौँ’, निर्देशक बरालको भनाइ छ ।
उक्त कथालाई नाटकमा रुपान्तरण भने कदम थिएटरका कला निर्देशक सिजन दाहालले गरेको हुन्। ’कदम थिएटरको पहिलो कार्यशाला र त्यस कार्यशाला प्रशिक्षबाट उत्पादित नाटक भएकोले अलिकति डर त थियो नै। काम राम्रो भएको र दर्शकको प्रेमले अब त्यो रहेन। हामीमा उर्जा सञ्चार भईरहेको छ।’
उक्त नाटक असोज २१ सम्म मञ्चन हुनेछ।