April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कियाचु बराहक्षेत्रले मनायो ३४ औं स्थापना दिवश

3.4K

प्रकाश दिप्साली राई


नडाहा । किरात याक्थुङ चुम्लुङ बराहक्षेत्रले आफ्नो ३४ औं स्थापना दिवस मनाएको छ । शुक्रबार किरात मुन्धुम लिमहिमको सांस्कृतिक परिवारको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै चुम्लुङले आफ्नो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले शुभकामना मन्तव्यसहित आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा बोल्दै किरात याक्थुङ चुम्लुङ बराहक्षेत्रका संस्थापक अध्यक्ष समाजसेवी बुद्धिजीवी रनाहाङ एभेङ्ले भने, ‘हाम्रो भाषा लिपिको बारेमा हामी गम्भीर बन्न सकेका छैनौं, यदि कुनै पनि समुदायको भाषा, लिपि र साहित्य रहेन भने त्यो जातीको अस्तित्व नै समाप्त हुन्छ ।’

Advertisement

सांस्कृतिक भाषिक आवश्यकता र महत्त्वबारे बोल्दै कार्यक्रमका विशिष्ट अतिथि प्रेम नाल्बो लिम्बुले पहिलो पुस्ता, हाम्रो पुस्ता र भावी पुस्ताबीचको भाषिक, साँस्कृतिक समस्या निराकरण बारे आफ्ना धारणा राखेका थिए ।

स्थापना दिवसको अवसरमा लिम्बु समुदायको ज्येष्ठ नागरिकद्वय ९० वर्षका अम्बरबहादुर लिबाङ र ७८ बर्सिया तिलमाया चेम्जोङ्लाइ सम्मानसमेत गरिएको थियो । यस्तै ‘केलाङ’ नाच सम्बन्धि नरबहादुर चोङ्बाङक्याकले आफ्ना धारणा राखेका थिए । प्रमुख अतिथि मिचोत्लुङ चोङ्बाङले भने पितृशोकमा परेका कारण आफ्ना भनाइ राखेनन् ।

स्थापना दिवस कार्यक्रमलाई चुम्लुङका सचिव राजकुमार आङ्देम्बे र सह– सचिव कल्पना ओख्राबुले संचालन गरेका थिए । यस्तै, स्वागत मन्तव्य कोषाध्यक्ष कौशिला वनेमले राखेका थिए । किरात याक्थुङ चुम्लुङको काम कर्तव्य, महत्व र वर्तमान अवस्थामा कियाचु बराहक्षेत्रको महत्वपूर्ण क्रियाकलापहरु बारे सभाध्यक्ष रबिन्द्र केदेमले प्रस्तुत गर्दै कार्यक्रमलाई समापन गरेका थिए ।