April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरको सबैभन्दा पुरानो बजार जोरसालमा ३४ वर्ष पछि औँशी पूर्णिमा हाट सुरु

2K

पाँचथर । पाँचथर जिल्लाको सबैभन्दा पुरानो बजार जोरसालमा ३४ वर्ष अगाडि बन्द भएको औँशी पूर्णिमा हाट पुनः लगाउन थालिएको छ । घरेलु र कृषि उपज सहित रैथाने उत्पादनहरूको किनबेच हुने उक्त हाट स्थानीय निकाय र व्यवसायीहरूको अगुवाइमा लगाउन थालिएको हो ।

जिल्लाको पुरानो सदरमुकाम समेत रहेको जोरसाल बजारमा शुबmवार अर्थात जनैपूर्णिमाबाट पुनः लाग्न थालेको हो । हाटको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले उद्घाटन गरे । सदरमुकाम फिदिमबाट दुई किलोमिटरको दूरीमा रहेको यस बजारको पुनर्जीवन, उक्त आसपासका कृषकहरूको कृषि उपज सहज बिक्री वितरण तथा परम्पराको संरक्षणको लागि उक्त हटिया पुनः सञ्चालनमा ल्याइएको हो ।

देउराली युवा क्लब र जोरसाल व्यवस्थापन समितिले उक्त हाट सञ्चालनमा ल्याएका हुन् । हटिया पुनः सञ्चालन गर्ने सोच बनाएका स्थानीयवासीलाई फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले मद्दत गरेपछि हाट सञ्चालनमा आएको छ । प्रत्येक औंसी र पूर्णिमा दिन लाग्ने हटिया विशेषतः स्थानीय कृषि उपज बिक्रीका लागि उपयुक्त हुने स्थानीयवासीको अपेक्षा छ ।

Advertisement

हाटमा आसपासका कृषकहरूले साग शब्जी , दाल, फलफूल लगायत कृषि उपज बिक्रीका लागि राखेका थिए भने फिदिमका केही व्यवसायीहरूले लत्ताकपडा, जुत्ताचप्पल लगायत सामग्री बिक्रीका लागि राखेका थिए ।

सांस्कृतिक झाँकीहरू सहित आयोजित उद्घाटन कार्यक्रममा लाखेनाच सहित विभिन्न जातजातिका सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो ।

यहाँ लाग्ने हटियाले फिदिम नगरपालिका वडा नंं २ , ४, ५ र ९ तथा हिलिहाङ र कुम्मायक गाउँपालिकाका केही वडा सहित तेह्रथुमको आठराईका कृषकहरूलाई कृषि उपज बिक्रीका लागि सहयोग पुग्ने वडाध्यक्ष लावतीले बताए ।

उद्घाटनका अवसरमा स्थानीय कृषि उपजहरू डोको नाम्लो, डालो, लाहा, फलफुल र कन्दमूल बिक्रीका लागि राखिएका थिए ।
हाट बजारको उद्घाटन गर्दै फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बजारमा ल्याइने कृषि र घरेलु उपजमा कुनै किसिमको कर नलिने प्रतिवद्धता जनाए ।