काठमाडौँ : भारतबाट घर फर्कने वेला तुइन तरिरहेका एक नेपाली किशोर महाकाली नदीमा खसेर बेपत्ता भएका छन्।
भारतको धारचुलामा पर्ने गर्भाधार भन्ने बजारमा सामान किनेर घर फर्कदै गरेका स्थानीय १७ वर्षीय सचिन बुढाथोकी तुइन टुट्दा महाकालीमा बेपत्ता भएका हुन्।
दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङस्थित बल्लेजुडीको तुइनबाट खसेर बुढाथोकी महाकाली नदीमा बेपत्ता भएको व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले जानकारी दिए।
‘भारतपट्टिको गर्भाधार भन्ने बजार छ। त्यहाँ घरको सामान किनेर फर्कदै गर्दा आज दिउँसो साढे ३ बजेतिर तुइन चुँडिएर घटना भएछ’‚ उनले भने। बुढाथोकी यो वर्षको एसइई दिएका थिए। बेपत्ता किशोरको खोजीका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको उनले बताएका छन्।
गत वर्ष भारतीयले तुइन काटिदिदा महाकालीमै बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको शव अहिलेसम्म पनि भेटिन सकेको छैन।