-पदम सुखी सम्बाहाम्फे
कुम्मायक । पाँचथरको कुम्मायक गाउँपालिकामा हुन गइरहेको १२औं गाउँ सभाको लागि नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धि घनीभूत रूपमा छलफल भएको छ । मंगलबार यासोकको जनभवनमा भएको सो कार्यक्रममा शिक्षा स्वास्थ्य कृषि खानेपानी तथा भौतिक पुर्वाधार विकास निर्माणका विषयमा सर्वपक्षीय उपस्थितिले छलफल गरेको थियो ।
गुणस्तरीय शिक्षा साथै सहज स्वास्थ्य उपचार नागरिकको पहुँचमा पुर्याउने र कृषि पेशालाई आत्मनिर्भर र व्यवसायिक बनाउने जस्ता योजनाहरूबारे छलफल भएको थियो । सुख्खा क्षेत्र भएकोले पोखरी तथा प्लास्टिक टनेलको व्यवस्था साथै सिजन अनुसार उत्पादन भएका फलफूललाई गाउँपालिकामा नै प्रशोधन गरेर आयआर्जन बढाउनुपर्ने राय सुझावहरु पेश गरिएको थियो । गाउँपालिकामा रहेका विद्यालयहरुमा रहेका शिक्षा सम्बन्धि बेथिति तथा कमि कमजोरीलाई तुरुन्त हटाइनुपर्ने र मातृभाषा शिक्षा पद्धतिलाई प्राथमिकता दिनुपर्ने जस्ता सुझावहरु शिक्षक गणेश चेम्जोङ र प्रकाश बिसिले पेश गरेका थिए ।
पाँच बर्ष पछि यो पहिलोपटक गाउँपालिकाको नीति तथा कार्यक्रम योजना तर्जुमा सम्बन्धि सर्व पक्षीय बैठक बोलाएर सबै नागरिकको राय, सल्लाह सुझाव समेटिएको भन्दै कार्यक्रमको प्रसंशा गरिएको थियो । उक्त कार्यक्रममा नेकपा माओवादीका प्रतिनिधि अमरसिं थापा नेपाली काँग्रेसका दुर्गा बम्जन, जनता समाजवादी पार्टी प्रतिनिधि तारानाथ सम्बाहाम्फे, नेकपा एमालेका मेघराज निरौला गाउँपालिका अध्यक्ष बमप्रसाद लावती, प्रमुख प्रशासकीय अधिकृत बिनोद सुवेदी उपाध्यक्ष महेन्द्र बहादुर खड्का लगायत वडाका वडा अध्यक्ष तथा सदस्यहरु लगायत राप्रपाका पार्टी प्रतिनिधिहरुको उपस्थिति समेत रहेको थियो ।
यसैगरी बुधबार वडा नम्बर ४ को तिङ्देन वडा कार्यलयमा पनि वाडसभा भएको थियो । आर्थिक बर्ष ७९÷८० को वडामा आएको ५२ लाख ५० हजार बजेटलाई कुनकुन शीर्षकको योजनामा के कति खर्च गर्ने भन्ने बारे सर्वपक्षीय छलफल भएको थियो । सो रकम साबिकको वडा नम्बर ६ र ८ मा समाधी स्थल खरिद गर्नु पर्ने र शिक्षा स्वास्थ्य कृषि र मोटरबाटो स्तर उन्नति साथै खानेपानीमा खर्च गर्न सकिने छलफलमा बताइएको थियो ।
डा अध्यक्ष फगेन्द्र सम्बाहाम्फेको अध्यक्षतामा भएको सो कार्यक्रममा नागरिक समाज बुद्धिजीवी तथा वडाका सदस्यहरुको उपस्थिति रहेको थियो ।